सल्यान, ८ असार । साइबर अपराध (विद्युतीय कारोबारसम्बन्धी कसुर) को आरोपमा पक्राउ परेका सल्यानका युवराज खड्कालाई जिल्ला अदालत सल्यानले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । खड्काविरुद्ध दर्ता भएका विद्युतीय कारोबारसम्बन्धी कसुरका उजुरीमाथि थप अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार खड्काविरुद्ध प्राप्त उजुरी, सामाजिक सञ्जालमा गरिएका गतिविधि तथा अन्य प्रमाणहरूको अध्ययन गरी कानुनी प्रक्रिया अगाडि बढाइनेछ । खडकाले आफुलाई जेन्जी संयोजकका रुपमा चिनाउने गरेका छन् ।
कुमाख गाउँपालिका–६ निवासी खड्कालाई आज बिहान शारदा नगरपालिका–४ साहिलाकम्द क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, मानमर्दन हुने प्रकृतिका सामग्री प्रकाशन तथा प्रसारण गर्ने लगायतका आरोपमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खड्काले आफूलाई गृहमन्त्री सुदन गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाह निकट व्यक्ति भएको दाबी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग अस्वाभाविक तथा महत्वाकांक्षी माग राख्ने, माग पूरा नभए सामाजिक सञ्जालमार्फत बदनाम गरिदिने भन्दै दबाब र धम्की दिने गरेको आरोपसमेत लागेको छ ।
यसैबीच, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमसहित स्थानीय तहका अन्य केही जनप्रतिनिधि तथा कर्मचारीहरूले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याएको भन्दै खड्काविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले अदालतबाट प्राप्त सात दिने म्यादभित्र घटनासम्बन्धी प्रमाण संकलन, डिजिटल सामग्रीको परीक्षण तथा उजुरीहरूको विस्तृत अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
खडकालाई दिएको उजुरी गत वैशाखमा जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालिन प्रमुख हेम बहादुर केसीले दर्ता नगरेपछि सरकारी वकिलको कार्यालय माफर्त उजुरी दिइएको थियो । तत्कालिन प्रहरी प्रमुख केसीको अहिले जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएको छ । उहाँको ठाउँमा दिपक पातली आउनु भएको छ । प्रहरी प्रमुख पातली आएसंगै उनको खोजी तिब्र पारिएको थियो ।
खडकाको फेसवुकबाट पोष्ट गरिएको भिडियो डिलिट
यसैबिच खडकाले आफुलाई पक्राउ गर्नुका कारणका विषयमा बोलेको भिडियो फेसवुक पेजबाट सार्वजनिक भएको करिब डेढघन्टामा डिलिट गरिएको छ । खडकाले भिडियोमा भनेका छन् ‘प्रहरीले मलाई पक्राउ गर्दै छ । म पक्राउ परेपछि मिडियाले लेख्ने छन् । पक्राउ पर्नुको कारण मैले बोलेको छु । पक्राउ परेपछि यो भिडियो अपलोड गर्नु भनेर अनुमति दिएको छु ।’
करिब साँझ सात बजे युवराज खडकाको फेसवुको आइडीबाट उक्त भिडिय अपलोड गरिएको थियो । यता प्रहरीले उनी पक्राउ पर्दा उनको साथमा मोबाइल नभएको बताएको छ । ‘खडका पक्राउ पर्दा उनको साथबाट मोबाइल बरामद हुन सकेन । हिरासतमा बसेको बेला मोबाइल चलाउने कुरा पनि भएन । उसको मोबाइल कसैले राखेको हुनसक्छ । त्यही भएर अपलोड गरेको होला । हामीले ऊ बसेको ठाउँ र घरमा समेत गएर खानतलासी गर्दा मोबाइल फेला परेको छैन । यसका विषयमा अनुसन्धान गरिरहेका छौ।’ सूचना अधिकारी तथा प्रहरी निरीक्षक भट्टले भन्नुभयो ।





