काठमाण्डौ, २३ जेठ । एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ । हङकङले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ३ बलमा ४० रनमा अलआउट भयो । नेपालकी सोनी पाखरिनले १२ र रुविना क्षेत्रीले १० रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् । हङकङकी इक्रा सहरले ४ विकेट लिनुभयो ।
त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । हङकङकी यास्मिन दासवानीले ४२ रन बनाउनुभयो । नेपालकी रुविना क्षेत्री र रिया शर्माले समान १ विकेट लिए । समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
यो खेलसँगै हङकङ सूमह विजेता र नेपाल समूह उपविजेता भएको छ । क्वाटरफाइनलका खेलहरु आउँदो बुधवारदेखि शुरू हुनेछ । यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो । हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो ।कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागि छन् । एसीसी प्रिमियर कपको शीर्ष चार टोली महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् ।






