तुलसीपुर,२८ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रो तुलसीपुर–राम्रो तुलसीपुर, खुसी जनता–समृद्ध तुलसीपुर” भन्ने नारासहित तुलसीपुर–१२ हरिपौरिस्थित तुलसीपुर मेट्रो कलेजमा आज कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी नागरिकहरूले नगरभित्र देखिएका विभिन्न समस्या, विकास निर्माणका काम, सेवा प्रवाह र जनजीविकासँग जोडिएका विषयमा खुलेर गुनासा तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा विशेषगरी सुकुम्बासी बस्ती व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमणलगाएतका बिषय उठाइएको थियो । सहभागीहरूले लामो समयदेखि भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको भन्दै नगरपालिकाले स्पष्ट योजना बनाएर स्थायी समाधानतर्फ अघि बढ्नुपर्ने बताएका थिए ।
त्यस्तै सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क लिने गरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा प्रभावकारी नियमन आवश्यक रहेको धारणा राखिएको थियो । यस्तै नगरभित्र नदिजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी भइरहेको, सार्वजनिक सम्पत्तिको संरक्षण प्रभावकारी हुन नसकेको लगायत विषयमा पनि स्थानीयले ध्यानाकर्षण गराएका थिए । बजार क्षेत्र तथा बस्तीहरूमा फोहोर व्यवस्थापन कमजोर रहेको, नियमित सरसफाइ नहुँदा वातावरणीय समस्या बढेको भन्दै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन माग गरिएको थियो । सहभागीहरूले विकास निर्माणका काममा पारदर्शिता, गुणस्तर र जनउत्तरदायित्व कायम गर्नुपर्नेमा जोड दिएका थिए । नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ छिटो, सहज र नागरिकमैत्री बनाउनुपर्ने सुझावसमेत दिएका थिए । उठेका गुनासा तथा जिज्ञासाको जवाफ नगर प्रमुख टिकाराम खड्का, उप–मेयर स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशबराज पार्धे, सम्बन्धित शाखा प्रमुखहरू तथा वडा अध्यक्षहरूले दिएका थिए । नगर प्रमुख खड्काले नागरिकबाट आएका सुझाव र गुनासालाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आवश्यक अनुगमन तथा सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।
उनले विकास निर्माणसँगै सुशासन, पारदर्शिता र जवाफदेहितालाई नगरपालिकाको मुख्य प्राथमिकता बनाइएको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत पार्धेले नागरिकका गुनासा सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउन कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाइने बताए । सम्बन्धित शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित जिज्ञासाको जवाफ दिँदै सुधारका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका थिए । यसैगरी उप–मेयर चौधरीले कर्मचारीहरुलाई जिम्मेवार भएर सेवाप्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमासिक अवधिसम्म गरेका विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार, सामाजिक विकास तथा अन्य गतिविधिको प्रगति विवरण रमा खड्काले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विवरणमा नगरपालिकाले सञ्चालन गरेका योजना, सम्पन्न भएका काम तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण बास बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले गरेको थियो । कार्यक्रममा नागरिक र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद गराइएको थियो । नगरपालिकाले सार्वजनिक सुनुवाइमार्फत नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने तथा त्यसका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्य रहेको जनाएको छ ।।


















