देउखुरी २३ वैशाख । दाङको लमहीमा बुधबार हजारौं भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गुठीपीडित तथा मुक्त कमैयाहरूको सहभागितामा विशाल विरोध प्रदर्शन गरिएको छ । संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफूहरूले विश्वास गरेर भोट दिएका नेताहरूले नै अहिले उठिबास गराउन खोजेको आरोप लगाउँदै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदर्शनका क्रममा वक्ताहरूले विगतदेखि नै विभिन्न राजनीतिक दलहरूले सुकुम्बासी र भूमिहीन समुदायलाई ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाए । “हामीलाई वर्षौंदेखि आश्वासन मात्रै दिइयो, समस्या समाधान कहिल्यै भएन,” उनीहरूले भने, “यसपटक भने यो सरकारले जग्गा र लालपुर्जा दिन्छ भन्ने विश्वासमा जिताएर पठायौं, तर अहिले उल्टै उठिबासको सामना गर्नुपरेको छ ।”
उनीहरूले सरकारद्वारा गरिएका पछिल्ला निर्णय र सूचनाहरूले आफूहरूको बसोबास असुरक्षित बनाएको बताउँदै कुनै पनि विकल्प नदिई जबरजस्ती घर भत्काउने वा हटाउने प्रयास भए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । विशेषगरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जारी गरिएका उठिबाससम्बन्धी सूचनाप्रति विरोध जनाउँदै उनीहरूले यस्ता निर्णयहरूले हजारौं परिवारको भविष्य अन्योलमा पार्ने बताएका छन्। दीर्घकालीन रूपमा बसोबास गर्दै आएका नागरिकलाई बिना पूर्वतयारी हटाउने संकेतले सामाजिक तथा आर्थिक अस्थिरता निम्त्याउने खतरा बढाएको उनीहरूको भनाइ थियो ।
राष्ट्रिय भूमि अधिकार मञ्च लमही नगरपालिकाका अध्यक्ष समसोन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिका अध्यक्ष प्रविन चौधरी, संघर्ष समिति राप्तीका सदस्य हरिप्रसाद भुसाल, संघर्ष समिति गढवाका संयोजक चित्रबहादुर महतरा, संघर्ष समिति राप्तीका संयोजक दलबहादुर घर्ती मगर तथा राष्ट्रिय भूमि अधिकार मञ्चका पूर्व केन्द्रीय अध्यक्ष मेघबहादुर बिसी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रमअघि हजारौंको संख्यामा सहभागीहरूले लमही बजार क्षेत्र परिक्रमा गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले “उठिबास बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर”, “डोजर आतंक बन्द गर” जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश पोखेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।