२०८३ बैशाख १९ गते शनिवार

भूमिहीन, सुकुम्बासीका घर भत्काउने कार्य रोक्न थारू कल्याणकारिणी सभाको माग

दाङ, वैशाख १९ गते । थारू कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले भूमिहीन, सुकुम्बासी, मुक्त कमैया– कम्लरीका तथा अव्यवस्थित बसोबासीका घरटहरा भत्काउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। दाङको दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा सभाको सभापति प्रेमीलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो कार्य मानवअधिकारको दृष्टिकोणले अन्यायपूर्ण रहेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिको बैठकमार्फत आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार खोला नदिको, वरिपरि, वनजंगल तथा अन्य क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन र सुकुम्बासी नागरिकको उचित व्यवस्थापन नगरी घरजग्गा भत्काउने काम गैरजिम्मेवार र अस्वीकार्य भएको बैठकले ठहर गरेको छ । पुनःस्थापना, पूर्वाधार तथा वैकल्पिक व्यवस्थापन नगरी गरिएको उठीबासप्रति सभाको बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै बैठकले त्यस्तै थारू समुदायका साझा माग, टिकापुर थरुहट राजबन्दीको विषय, आन्दोलनकर्मीमाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ।

यस्तै सभाको रिक्त उपमहामन्त्री पदमा रुपन्देहीका सतीशकुमार चौधरीलाई मनोनित गर्ने, कपिलवस्तुका जितबहादुर चौधरी, सत्यनारायण चौधरी र बद्रीनारायण चौधरी, रिक्त केन्द्रीय सञ्चालन समिति सदस्य पदमा रुपन्देहीका खुशीराम चौधरीलाई मनोनित गर्ने सभाले निर्णय गरेको छ । यसैगरी बैठकमा संगठनको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै संशोधित विधान २०८२ काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएको जानकारी गराइएको थियो । काठमाडौंमा केन्द्रीय कार्यालयका लागि घरजग्गा खरिद गर्न सञ्चालन गरिएको आर्थिक संकलन अभियानको प्रगतिबारे पनि जानकारी गराइएको थियो।

यस्तै सभाले संघीय निजामती विधेयक, सार्वजनिक सेवामा प्रतिनिधित्व, राजनीतिक नियुक्ति तथा थारु समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गर्ने निर्णय गरिएको छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा सामाजिक समावेशीकरण, लैंगिक समानता तथा सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै बैठकले थारू विद्यार्थी सभाको प्रस्तावित विधान संशोधनका लागि केन्द्रीय सञ्चालन समितिलाई जिम्मेवारी दिएको छ भने इजरायलमा संगठन विस्तारका लागि अनुमति प्रदान गरेको छ ।

जापान, खाडी मुलुक र युरोपबाट तीन जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय पनि भएको छ। साथै पदीय वरियता, कार्यक्रम सञ्चालन निर्देशिका तथा राना थारुसँग एकीकरणका लागि प्रभातकुमार चौधरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । यस्तै बैठकले केन्द्रीय कार्यालयको घरजग्गा खरिद अभियानलाई तीव्रता दिँदै पदाधिकारी, सदस्य, जिल्ला सभापति तथा सम्बन्धित जिम्मेवार व्यक्तिले २०८३ असार मसान्तभित्र तोकिएको रकम बुझाउनुपर्ने निर्णय पनि बैठकले गरेको सभाका महामन्त्री मिनराज चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया