तुलसीपुर, ८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–३ अन्तर्गत दमारगाउँमा स्थानीय नागरिक र जनप्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ दाङको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष युवा कराराको अध्यक्षता तथा वडा अध्यक्ष विजय विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष विकले वडावासीको जनभावनाअनुसार काम भइरहेको बताउनुभयो ।
भौगोलिक रूपमा विकट क्षेत्र भए पनि पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको उहाँको भनाइ थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार भएको दाबी गर्दै उहाँले सामाजिक सुशासन र सेवा प्रवाहलाई समेत व्यवस्थित गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीहरूले विकास निर्माणका योजना सबै गाउँबस्तीमा समान रूपमा पुग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले लक्षित वर्ग तथा समुदायका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई अझ सहज, पारदर्शी र व्यवस्थित बनाउनुपर्ने माग राखे ।
सोअवसरमा निमित्त वडा सचिव विन्दु शर्माले चालु आर्थिक वर्षमा भएको कार्यसम्पादनबारे प्रस्तुति राखेकी राख्नु भएको थियो । कार्यक्रममा कलिभान रोका, चेतमान सेजुवाल, ढाका बहादुर केसी, शिवलाल केसी, यज्ञबहादुर बुढा, दलबहादुर गुरुङ र इन्द्र रोकाले विकास निर्माण, पर्यटन, योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्तासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । दलित महिला सदस्य डिलमाया नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य कर्णबहादुर बुढा लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले गर्नुभएको थियो ।


















