तुलसीपुर, ७ बैशाख ।दाङको घोराहीमा प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराहीबाट हिजो चार जनालाई लागुऔषध सहित पक्राउ गरिएको हो ।
घोराही १८ खर्कट्टी टोल स्थित अनिता रोका मगरको घरमा लागुऔषध ब्राउन सुगर कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले रोकामगर सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उहाका श्रीमान् बर्ष ४४ को नविन कुमार रोका मगर, सोहि वडाको नयाँबस्ती टोल बस्ने बर्ष ५० को खड्क बहादुर पुन र वडा नम्वर १४ बस्ने बर्ष ४३ की कविता घर्ती रहेको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
साथै प्रहरीले उनीहरुको साथबाट ५६ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ भने खड्क बहादुर पुनको लु।प्र।०२-००२ प २३७१ नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुरबाट लागुऔषध सहित तिन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तुलसीपुरबाट तिन जना लागु औषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शान्तीनगर गाउँपालिका वडा नम्वर ५ बस्ने बर्ष २९ को उद्धव शाह, अर्घाखाची शितगंगा नगरपालिका वडा नंम्वर ८ बस्ने बर्ष २८ को शुक्र बहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका वडा नंम्वर १२ बस्ने बर्ष २५ को बिजय सिंह रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ ।
उहाका अनुसार विशेष सुचनाको आधारमा उद्धव शाहलाई आज दिउँसो तुलसीपुरको बसपार्क न्युरोडबाट लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । यस्तैगरी कुमाल र सिंहलाई पनि तुलसीपुरको बसपार्कबाट आज दिउँसो सवाँ चार बजेतिर लागु औषध चरेस सहित पक्राउ गरिएको सुचना अधिकारी बोहराले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ८९५ ग्राम लागु औषध चरेस बरामद गरेको छ ।पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


















