

दाङ, बैशाख ७ — डिजिटल युगसँगै बढ्दै गएको साइबर अपराधप्रति विद्यार्थीलाई सचेत बनाउन घोराहीस्थित मार्क इन्टरनेशनल कलेजमा सोमबार विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। त्रिभुवननगर जेसिजको आयोजनामा जेसिज सप्ताह अन्तर्गत छैटौं दिन सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई साइबर अपराध, यसको जोखिम र त्यसबाट बच्ने उपायबारे विस्तृत जानकारी दिइएको त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटले जानकारी दिनुभयो।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक तुलबहादुर विकेले साइबर अपराधको स्वरूप, समाजमा यसको बढ्दो प्रभाव र सुरक्षित इन्टरनेट प्रयोगका उपायहरूबारे प्रस्तुति राख्नुभयो। उहाँले डिजिटल माध्यम प्रयोग गर्दा सचेत रहनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उहाँले इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि वृद्धि भइरहेको बताउँदै सचेत र जिम्मेवार प्रयोगमा जोड दिनुभयो।
कलेज प्रमुख लालमणि बसेलले यस्ता कार्यक्रमले विद्यार्थीमा चेतना अभिवृद्धि गर्नुका साथै समाजमा साइबर अपराध न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, जेसिज सप्ताहका मूल संयोजक श्यामकुमार गिरीले समाजका विभिन्न क्षेत्रलाई समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रम संयोजक संगम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा करिब एक सय विद्यार्थीहरूको सहभागिता रहेको थियो। जेसिज सप्ताह अन्तर्गतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै मंगलबार औपचारिक समापन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
















