दाङ, २१ चैत । दाङको राप्ती गाउँपालिकामा हिजो भएको धारिलो हतियार प्रहार घटनामा संलग्न तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । चैत २० गते राति राप्ती गाउँपालिका–२ निवासी आयुष्मान थापा मगरमाथि धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए । उनको प्रारम्भिक उपचार राप्ति आधारभूत अस्पताल, सिसहनियामा गरी थप उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही लगिएको छ । घटनाबारे आयुष्मानकी दिदी रमिता खाम्चा मगरले राति करिब ११ बजे इलाका प्रहरी कार्यालय भालुबाङमा जानकारी गराएपछि प्रहरी टोली खटिएको थियो । त्यसक्रममा आयुष्मानका साथी स्मित प्रधानको खोजी गर्दा राप्ती–४ मौरिघाटस्थित दोलाई खोलाको नहरमा उनको शव फेला परेको थियो ।
उनको शरीरमा धारिलो हतियारले प्रहार गरिएको अवस्था भेटिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्दै गएको प्रहरीले बिहान करिब २ बजे तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–८ घर भई हाल राप्ती–४ श्रीनारायण चोक बस्ने करिब २० वर्षीय सन्दीप वली, राप्ती–४ मौरिघाटका करिब १८ वर्षीय निश्चल चौधरी र एक जना नाबालिका (परिवर्तित नाम) रहेका छन् । प्रहरीले घटनास्थलबाट चक्कु, ढुंगा, बाँसको टुक्रा, प्लास्टिकको डोरी, चस्मा, टावेलका टुक्रा र चार वटा मोबाइल फोन बरामद गरेको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।








