२०८२ फाल्गुन ८ गते शुक्रवार

कपुरकोट आधारभूत अस्पताल निर्माणमा ७८ हजार बढी भुक्तानी, असुल गर्न निर्देशन

दाङ, २२ माघ । सल्यानमा १५ शैयाको कपुरकोट आधारभूत अस्पताल भवन निर्माण कार्यमा नापी किताबमा देखिएको वास्तविक कामभन्दा बढी रकम भुक्तानी भएको पाइएको छ । लेखा परीक्षणका क्रममा निर्माण व्यवसायीलाई बढी भुक्तानी भएको पाइएपछि महालेखाले रकम असुल गर्न निर्देशन समेत दिएको छ । योजना निर्माणको काममा कसैले बिलभर्पाई पेश गर्दा पनि पैसा समयमै नपाउने, भुक्तानी पाएपनि विभिन्न शीर्षकमा कर कट्टी गरेर दिने पालिकाको विभेदकारी नीतिको अन्त्य हुनुपर्ने स्थानीयको माग छ । 

ठेका नं. १२/०७७/७८ अन्तर्गत १५ शैयाको अस्पताल भवन निर्माण कार्यका लागि निर्माण व्यवसायी पीएस/रोयल जे.भी.सँग मिति २०७८ असार २४ गते मू.अ.कर बाहेक १० करोड ५४ लाख ७ हजार ५६३ रुपैयाँको खरिद सम्झौता भएको थियो । 

लेखा परीक्षणका क्रममा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३(१) अनुसार नापी किताबमा उल्लेख भएको वास्तविक कार्यसम्पादनको आधारमा मात्र भुक्तानी गर्नुपर्ने व्यवस्थाको पालिकाले उल्लङ्घन गरेको महालेखाले टिप्पणी गरेको छ । 

पाँचौँ रनिङ बिलसम्म मू.अ.कर समेत ९ करोड ६९ लाख ९६ हजार ४८८ रुपैयाँको विधिवत् बिल पेश गरिएको भए पनि पालिकाबाट ९ करोड ७० लाख ७५ हजार १७ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।

यस्तो छ महालेखा परीक्षणका प्रतिवेदन

नापी किताबमा उल्लेख भएको वास्तविक कार्यसम्पादन भन्दा ७८ हजार ५२८ रुपैयाँ बढी भुक्तानी भएको देखिएकाले उक्त रकम सम्बन्धित निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखा परीक्षणले सार्वजनिक निर्माण कार्यमा विधिवत् नापजाँच बिना गरिएको भुक्तानीले वित्तीय अनुशासन कमजोर हुने भन्दै आगामी दिनमा कडाइका साथ नियम पालना गर्न सुझाव दिएको छ ।

कमजोरी भयो : प्रमुख प्रशासकीय अधिकृत पौडेल 

कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिने पौडेल कमजोरी भएको स्वीकार गर्नुभएको छ ।  ‘उति बेला कर्मचारी साथीहरूले त्रुटि गर्नुभए छ । रनिङ बिल उठाएको बेला टोलीले कर कट्टी नगरेर मिस्टेक गरेछ । पछि हामीले मिलायौँ । आर्थिक वर्ष २०८०/२०८१ मा यस्तो समस्या देखिए पनि यस्ता धेरै कुराहरूलाई हामी मिलाउँदै अघि बढेका छो ।’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो । 

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया