२०८२ फाल्गुन ८ गते शुक्रवार

हुम्ला, जुम्ला, दार्चुला र डडेल्धुरा लगायतका जिल्लामा हिमपात

काठमाडौ, १० माघ । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् ।

हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ । जुम्लामा पनि हिमपात भएको छ । हिउँद लागेपछि विगतमा पुसमै पानी परेर हिउँ पर्ने गर्थ्यो तर यस पटक ढिला हिमपात भयो ।

हिउँदेबाली सुक्न थालेका बेला हिमपातले राहत पुगेको कनकासुन्दरी गाउँपालिका–२ का किसान रतन रावतले बताउनुभयो । अर्का किसान गोपाल रोकायाले किसानका लागि यो हिउँ चाँदी सरह नै रहेको बताउनुभएको छ । जुम्लाको न्यूनतम तापक्रम माईनसमा छ । हिमपातले जनजीवन भने सामान्य प्रभावित भएको छ ।

त्यस्तै बैतडीको उच्च क्षेत्र खोड्पे, श्रीभावर, सतबाँझलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । हिमपात भइरहे पनि सडकमा समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको छ । वर्षा र हिमपातले विशेषगरी हिउँदेबाली गहुँमा फाइदा पुग्ने भएको छ । चिसो केही बढेकाले जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिवार
प्रतिक्रिया