२०८२ मङ्सिर १९ गते शुक्रवार

भ्रष्टाचार आरोपमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोक हेलिप्याड निर्माणमा परेको अनियमितता प्रकरणमा नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा पेश गरिएको थियो ।

तर समय अभावका कारण उनीहरूको बयान तथा थुनछेक बहस अघि बढ्न नसकेपछि अदालतले उनीहरूलाई हिरासतमै राख्न आदेश दिएको प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार अब शुक्रबार मात्र अधिकारी र भण्डारीको बयान र थुनछेक बहस सुनुवाइ हुनेछ । “अभियोगपत्र ढिलो दर्ता भएकाले आज आवश्यक प्रक्रिया पूरा हुन सकेन, अब पर्सि मात्र बहस हुनेछ,” उहाँले भन्नुभयो ।

अख्तियारले अधिकारी र भण्डारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । क्यानका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि र सोका प्रमुख विजय थापा तथा निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई समेत प्रतिवादी बनाइएको छ । अख्तियारले नलिञ्चोक हेलिप्याड निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार भएको दाबी गर्दै बिगो कायम गरेको छ ।

अन्य पाँच जनाको हकमा भने अदालतबाट नै म्याद थप गराइ कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ । नलिञ्चोक क्षेत्रको जोखिमपूर्ण स्थानमा हेलिपोर्ट निर्माण गर्दा अनियमितता भएको भन्दै दर्ता भएको उजुरीकै आधारमा अख्तियारले यो प्रकरणमा विस्तृत अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया