२०८२ माघ २ गते शुक्रवार

विदेशमा रहेका नेपालीले पनी मतदान गर्न सम्भव

काठमाडौँ, ५ मंसिर ।  नीति अनुसन्धान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली र देशभित्रै अन्तरनिर्वाचन क्षेत्रका मतदाताको मतदान सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । सरकारलाई बुझाइएको सङ्क्षिप्त प्रतिवेदनमा प्रतिष्ठानले गरेको अध्ययनको निष्कर्ष र सिफारिस समेटिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक दोस्रो साता प्रतिष्ठानलाई अध्ययनको जिम्मेवारी दिँदै प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो ।

अनुसन्धान प्रतिष्ठानका प्रवक्तासमेत रहनुभएका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपककुमार खड्काले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फ अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली मतदाताको मतदान सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको जानकारी दिनुभयो । प्रतिष्ठानले आफ्नो अध्ययनको निष्कर्षबारे आज शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसमक्ष प्रस्तुतिसमेत दिने छ । प्रतिष्ठानले करिब दुई साता लगाएर विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्ने प्रक्रियाबारे अध्ययन गरेको हो । प्रतिष्ठानले सरकारलाई बुझाएको २२ पृष्ठको प्रतिवेदनमा तीन वटै विधिको मार्गचित्र औँल्याइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया