दाङ,२५ कात्तिक । सचेतनाका काम भइरहे पनि दाङमा अझै बालविवाह नरोकिदा उमेर नपुग्दै आमा बन्ने र गर्भपतन गर्ने प्रवृत्ति नरोकिएको देखिएको छ । यतिसम्म कि गर्भपतनपछि पनि परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको पाइएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम तीन तहकै सरकारले गरिरहेका छन् । सबैले बजेट छुट्याएकै हुन्छन् । कार्यक्रम पनि वर्षेनि गर्छन् तर दाङमा सबै गर्भवतीले आइरन चक्की नखाएको, उमेर नपुग्दै आमा बनेको, बच्चालाई पूर्ण स्तनपान नगराएको, कम उमेरमै गर्भपतन तथा गर्भपतनपछि पनि परिवार नियोजनका साधनको कम प्रयोग गर्ने जस्ता समस्या अझै व्याप्त रहेको रिपोर्ट पनि तिनै सरकारी निकायले नै वर्षेनि सार्वजनिक गरिरहेकै छन् । जिल्लामा मातृ मृत्यु पनि रोकिएको छैन । आर्थिक वर्ष २०७९/०८० मा ११ आमाको मृत्यु भयो । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै दाङमा आठ मातृ मृत्यु भएको स्वास्थ्य कार्यालय दाङको रेकर्डमा छ । गत आर्थिक वर्ष २०८१/०८२ मा घट्नुको साटो नौजना आमाले ज्यान गुमाउनुप¥यो । जसमा तुलसीपुर र घोराही उपमहानगरपालिकामा तीन/तीन, बंगलाचुलीमा दुई र गढवामा एकजना आमाको मृत्यु भयो ।
अघिल्लो वर्ष २०८०/०८१ मा तुलसीपुर उपमहानगरपालिकामा चार, घोराही उपमहानगरपालिका, दंगीशरण, बबई र राप्ती गाउँपालिकामा एक÷एकजना आमाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १६ प्रतिशत २० वषमुनि आमा बने जुन २०८१/०८२ मा एक प्रतिशत मात्रै कम भयो । आइरन चक्की नपाउने गर्भवती र आइरन फोलिक एसिड नपाउने किशोरीको संख्या पनि कम भएको छैन । सरकारी रेकर्ड अनुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्ण स्तनपान नगराउने ३४ प्रतिशत थिए । गत वर्ष २०८१/०८२ मा १८ प्रतिशत रहे । पूर्ण स्तनपानमा केही प्रगति देखिए पनि समग्रमा प्रजनन स्वास्थ्यमा जिल्लाभर समस्या कायमै रहेको देखिएको छ । सरकारी मात्रै नभएर गैरसरकारी क्षेत्रबाट पनि आमा स्वास्थ्य कार्यक्रमका लागि वडा तहसम्मै कार्यक्रम हुँदै आए पनि तल्लो स्तरसम्मका समस्या अझै हल हुन नसकेको जिल्लाका दशवटै पालिकाका प्रगति रिपोर्टले देखाउँछ ।
रोकिएन बालविवाह
नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ । विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाह बालविवाह हो । मुलुकी संहिता २०७४ ले २० वर्ष भन्दा मुनिको उमेरमा गरिने विवाहलाई बालविवाह भनेको छ । नेपालको कानुनले बालविवाहलाई अपराध ठहर गर्दै त्यस्तो कार्यमा संलग्न हुनेलाई कारावास सजाय समेतको ब्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी कसुरको सजाय निर्धारण दफामा २० वर्ष उमेर नपुगी विवाह गराउनेलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको प्रावधान छ । यस्तो विवाह स्वतः बदर हुने समेत उल्लेख छ । कानूनमा सजायसम्मको व्यवस्था भए पनि दाङमा अझै बालविवाह कायमै रहेको देखिएको छ । बालविवाहको दरमा कमी आए पनि अझै पनि नरोकिएको सरकारी तथ्यांकले नै देखाएको हो ।
बालविवाहले निम्त्याउने समस्याको बारेमा धेरै अभिभावकलाई जानकारी छैन । उमेर नपुग्दै हुने विवाहले शारीरिक तथा मानसिक रोगको शिकार हुने, स्वास्थ्य र शिक्षाको अधिकार गुमाउने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने, कम उमेरमा सन्तान जन्माउँदा आमा र शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ भने अपांगता भएका सन्तान जन्मन सक्ने भएकोले परिपक्व नभई विवाह गर्न नहुने जानकारहरु बताउँछन् । विभिन्न सचेतनाका कार्यक्रम, नियमनका लागि कानुनी व्यवस्था हुँदाहुँदै पनि स्वास्थ्य चौकीहरुमा भएको प्रसूति सेवाको तथ्यांक अध्ययन गर्दा समाजमा अझै बालविवाह व्याप्त रहेको देखिएको छ ।
सबै पालिकामा उमेर नपुगेकाहरु सुत्केरी भएको विवरण छ । कुल गर्भवती हुनेको संख्या हेर्दा जिल्लामा १५ प्रतिशत गर्भवती २० वर्षमुनिका रहेका छन् । जसमा सबैभन्दा धेरै बंगलाचुली र शान्तिनगगरमा २७÷२७ प्रतिशत गर्भवती २० वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । त्यसैगरी गढवामा २३ प्रतिशत, बबईमा १९ प्रतिशत, राजपुर, राप्ती र घोराहीमा १६÷१६ प्रतिशत गर्भवती गत वर्ष २० वर्षमुनिका भएका छन् । दंगीशरणमा १५ प्रतिशत, तुलसीपुरमा १४ र सबैभन्दा कम लमही नगरपालिकामा पाँच प्रतिशत गर्भवती २० वर्षमुनिका छन् ।
बालिकाको गर्भपतन
बालविवाहको असर गर्भपतनमा पनि देखिएको छ । सुरक्षित गर्भपतन सेवा लिएकाको रेकर्ड मात्रै हेर्दा पनि गत आर्थिक वर्षमा जिल्लामा २० वर्षमुनिका एक सय ९१ ले सुरक्षित गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा एक सय ७१ जनाले गराएका थिए । गत आर्थिक वर्ष २०८१/०८२ मा १२ हप्तासम्मको मेडिकल विधिबाट ६९ जना र सर्जिकल विधिबाट ८९ गरेर एक सय ५८ जनाले सुरक्षित गर्भपतन गराएको देखिएको छ । १२ हप्ता माथिको पनि २० वर्ष मुनिकाको सुरक्षित गर्भपतन भएको देखिएको छ । जसमा मेडिकल विधिबाट १३ जनाको २० हप्तामाथिको सुरक्षित गर्भपतन भएको छ । २० वर्षमाथिका दुई हजार छ सय ७६ जनाको सुरक्षित गर्भपतन भएको देखिएको छ ।
अघिल्लो वर्ष २० वर्षमाथिका दुई हजार दुई सय ४८ जनाको सुरक्षित गर्भपतन भएको थियो । १२ हप्तासम्मका मेडिकल विधिबाट गत वर्ष एक हजार एक सय २८ र सर्जिकलबाट एक हजार चार सय १४ तथा १२ हप्ता माथिको मेडिकलबाट एक सय र सर्जिकलबाट ३४ जनाको सुरक्षित गर्भपतन भएको छ परिवार नियोजनका साधन प्रयोग नगरी यौन सम्बन्ध राख्दा बसेको अनिच्छित गर्भपतन गराउँदा ५० जनाले जटिल अवस्था ब्यहोरे । १२ हप्तासम्मको गर्भपतनमा मेडिकलका ३३, सर्जिकलका नौ र १२ हप्तामाथिको गर्भपतन गराएका मेडिकल र सर्जिकल विधिबाट गरेका चार/चार जनाको स्वास्थ्यमा जटिलता आएको थियो । गर्न नहुने सानै उमेरमा विवाह, गरिहाले परिवार नियोजनका साधन नअपनाउने जसका कारण गर्भपतन गर्नुपर्ने मात्रै होइन गर्भपतन गरेकाले चेत नखुलाएको देखिएको छ । चेतनाको स्तर यतिसम्म कम छ कि कम उमेरमै गर्भपतन गराउँदासम्म पनि उनीहरुले नै गर्भपतन पश्चात पनि निरोध साधन नअपनाउने गरेको पाइएको छ । स्वास्थ्य कार्यालयको रेकर्डमा गर्भपतनपश्चात पनि निरोध साधन अपनाउने कम देखिएका हुन् । गर्भपतन गराएका जम्मा दुई हजार आठ सय ८७ मध्ये छोटो अवधिको निरोधक अपनाउने एक हजार ३३ र लामो अवधिको निरोधक अपनाउने चार सय नौजना मात्रै छन् । सन्तोष खनालले खबर लेख्नु भएको छ ।



