तुलसीपुर, ७ कात्तिक । दाङको दंगीशरणमा छोराले बञ्चरो प्रहार गर्दा बुबा–आमा घाइते भएका छन् । दंगीशरण–५ सलौरा निवासी २४ बर्षीय बिर बहादुर ओलीले मादक पदार्थ सेवन गरी बञ्चरोले प्रहार गर्दा उहाँकै बुबा ६५ बर्षीय बेद बहादुर ओली र आमा अन्दाजी ५५ बर्षीया कुमारी ओली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गएराती करिब ९ बजेको समयमा मादक पदार्थ सेवन गरेका बिर बहादुरले सामान्य बिबादका क्रममा अन्दाधुन्दा बञ्चरो नचाएका थिए । सोही क्रममा उनीहरु दुबैजनाको टाउकोमा चोट लागेको हो । घाइते दुबैजनालाई छिमेकीको सहयोगमा गएराती नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएपनी पैसाको अभावले आज दिउँसोसम्म उपचार नभएपछी अलपत्र परेका थिए ।
अहिले प्रादेशिक अस्पतालमा रहेको घरेलु हिंसाका पिडितहरुलाई सहायता दिदै आएको संस्था ओसीएमसीसँगको समन्वयमा उपचार भइरहेको छ । ’श्रीमानलाई प्रेसरले हानेको छ । एउटा बस्ने राम्रो घर पनि छैन । घरको सबै जिम्मेवारी ममाथी आइपरेको छ । जसोतसो ज्याला मजदुरी गरेर भएपनी साँझ बिहानको छाक टार्दै आएका थियौँ,–घाइते कुमारी ओलीले भन्नुभयो । तर, अहिले हामी दुबैजनालाई छोरोले यस्तो हालत बनायो । डाक्टरले टाउकोमा टाँका लगाउनुपर्छ आफन्तलाई बोलाउनुस् भन्नुहुन्छ । तर, हाम्रो आफन्त भन्ने कोही छैन । आफैले जन्माएको घरकै छारोले यस्तो गरेपछी अरु कस्लाई बोलाउने अन्योलमा छौँ । उपचार गर्ने पैसा पनी छैन ।’ घटनापछी फरार रहेका बिर बहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।


















