
तुलसीपुर, २९ असोज । पश्चिम दाङको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) खिम बहादुर खड्कासहित ६६५ जना इन्स्पेक्टरको एकै पटक सरुवा भएको छ । उहाँको कर्णाली प्रदेश प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा सुर्खेतमा सरुवा भएको छ भने उहाँको ठाउँमा गौतम बुद्ध विमास्थल कार्यालय भैरहवाबाट इन्स्पेक्टर कमल परियार आउन लाग्नु भएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनादेखीको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी ६ सय ६५ जना इन्स्पेक्टरहरुको एकै पटक सरुवा/काज गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
जस अनुसार जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर कबिराज रोकायाको इलाका प्रहरी कार्यालय सुगरखालचुवा कैलालीमा सरुवा भएको छ । उहाँका ठाउँमा जिल्ला प्रहरी कार्यालय सल्यनाबाट इन्स्पेक्टर बाबुराम बस्नेत आउन लाग्नुभएको छ । दाङसहित देशैभरका इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयलगाएतका प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टरहरुको सरुवा तथा काजमा खटनपटन गरिएको हो ।।