काठमाण्डौ, १६ असोज । भोलीदेखी मनसुनी गतिविधि थप सक्रिय हुने भएपछि २० गते सोमवारसम्म कृषि बाली नकाट्न र काटिसकेको भए भित्रयाइहाल्न कृषि बिज्ञले सुझाएका छन् । कृषि मौसमविद् रामेश्वर रिमालले यो बेला किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गर्नुभएको छ ।
उहाले मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित ठाँउमा व्यवस्थापन गर्न भन्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै ठूलो पानी पर्दाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरेको छ ।
भोलीदेखि तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ । उहाँका अनुसार वर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका ठाउँका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।