
काठमाडौँ, १० असोज । जेनजी आन्दोलनको क्रममा जलेको यातायात व्यवस्था विभागको डाटा सेन्टर मर्मतको काम सुरु भएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै सर्भर पुनः सञ्चालन नभएसम्म चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता सम्बन्धी सम्पूर्ण कार्य स्थगित हुने जनाएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनमा विभागको सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएपछि सेवा अवरुद्ध भएको हो। विभागका आईटी डाइरेक्टर केशव खतिवडाका अनुसार हाल लाइसेन्स सम्बन्धी सम्पूर्ण काम र इभिआरएस बन्द छन्। ‘डाटाबेस सुरक्षित छ, तर सर्भर मर्मत गर्न करिब १५ दिन लाग्न सक्छ,’ खतिवडाले बताए। उनका अनुसार मर्मत सकिएपछि लाइसेन्स प्रिन्ट बाहेकका सबै काम पुनः सुरु हुने छन्।
सवारी दर्ताबारे उनले स्पष्ट पार्दै भने, ‘गाडी दर्ता नै रोकिएको होइन, अहिले अस्थायी रूपमा भिआरएस प्रणालीमा काम भइरहेको छ। मर्मतपछि पुनः इभिआरएसमै गाडी दर्ता सुरु हुनेछ।’