काठमाडौं, भदौ ३० गते । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार आफ्नो पदको कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खनाललाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथपछि मन्त्रालयमा पुगेर खनालले सचिव तथा उच्च अधिकारीहरूसँग ब्रीफिङ लिँदै आगामी दिनमा आर्थिक स्थिरता कायम गर्नुपर्ने प्राथमिकतामा जोड दिनुभएको छ ।
खनाल पूर्व अर्थसचिव रहिसक्नुभएको छ र उहाँलाई अर्थतन्त्रको गहिरो ज्ञान भएको मानिन्छ । उहाँको कार्यकालमा राजस्व प्रशासन सुधार, पारदर्शिता, कर प्रणाली सुदृढीकरण तथा सार्वजनिक वित्त व्यवस्थापनमा गरेको योगदान उल्लेखनीय मानिन्छ । यही पृष्ठभूमिका कारण उहाँलाई पुनः जिम्मेवारी दिइएको हो । उहाँले पदभार ग्रहणपछि मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै आर्थिक अनुशासन, खर्चमा मितव्ययिता र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । खनालले रोजगारी सिर्जना, निजी क्षेत्रसँग सहकार्य र उत्पादनमुखी नीतिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।