दाङमा कर्फ्यूपछि निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला प्रतिबन्ध

दाङ , २७ भदौ । दाङमा आजदेखि निषधाज्ञा जारी गरिएको छ । हालै जेनजीको आह्वानमा दाङमा भएका विरोध प्रदर्शन, हुलदंगा, जुलुस हिंसात्मक तथा ध्वंसात्मक रूप लिँदै सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयमा तोडफोड र आगजनीसम्मको अवस्था सिर्जना भएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो ।

पछिल्लो समय जनजीवन सामान्य बन्दै गएको देखिए पनि पुनः हुलदंगा र अशान्ति हुने सम्भावना कायमै रहेकाले दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले निषेधाज्ञा आदेश जारी गर्नुभएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम आज बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।

यस अवधिमा पाँच जना भन्दा बढी भेला भई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया