
दाङ, २६ भदौ। पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेकी नेतृ कोमल वलीले जेन–जी आन्दोलनको क्रममा आफ्ना निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति पीडा व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको अभिव्यक्तिमा उहाँले विगतका संघर्ष, सपना र अहिलेका दुःखद घटनाबारे खुलेर बोल्नुभएको छ।
उहाँले आफ्नो पसिना र परिश्रमले बनाएको ‘कोमल होटल’माथि नियोजित रूपमा आक्रमण भएको उल्लेख गर्दै भन्नुभएको छ, “हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो।” होटलसँग जोडिएका ४० जना स्थानीय युवा रोजगारीबाट वञ्चित हुनु परेकोमा उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
कोमल वलीले आफू लामो समय सञ्चार क्षेत्रमा क्रियाशील रहेर देश र जनताको सेवा गरेको स्मरण गराउँदै लेख्नुभएको छ रेडियो नेपालमा काम गर्दा कमाएको पैसाले जग्गा किनेर होटल सञ्चालन गर्न थालिएको हो। उहाँले लेख्नुभयाे, “मेरो जीवन इमान र निष्ठामा अडिएको छ। मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन।”
२०६१ सालमा माओवादी द्वन्द्वका क्रममा आफ्नो घरमा भएको आक्रमणको स्मरण गर्दै वलीले अहिले फेरि त्यस्तै पीडा दोहोरिएको बताउनुभएको छ। आन्दोलनका क्रममा निर्दोष बालबालिकासमेतले ज्यान गुमाउनु परेकोमा उहाँले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
उहाँले जेन–जी आन्दोलनमा सहभागी युवाहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै प्रश्न गर्नुभएको छ—के अरूको पसिना, घर र गाडी जलाउनु नै परिवर्तनको नाम हो ? आन्दोलनको उद्देश्य सकारात्मक भए पनि त्यसको नाममा गरिएको हिंसा न त न्यायसंगत छ, न त भविष्यका लागि सह्य उहाँले लेख्नुभयाे।
अन्त्यमा उहाँले भन्नुभएको छ, “मेरो सपना खरानी बनाइयो होला, तर मेरो आत्मसम्मान र देशप्रतिको माया कहिल्यै खरानी बन्ने छैन।” वलीले कानुनी प्रक्रियामार्फत दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग अपेक्षा राख्नुभएको छ।