२०८३ मङ्सिर ९ गते बुधवार

मेयरसाब होटल खोल्दा किन हतकडी ?

तुलसीपुर, १५ भदौ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाको कार्यकक्ष आइतबार दिउँसो खचाखच भरिएको थियो । व्यवसायीलाई प्रहरीले आफ्नो पेशा व्यवसाय गरेर खान नदिएको भन्दै मेयरलाई भेट्न पुगेका व्यवसायीहरुका कारण मेयरको कार्यकक्षका सबै सोफाहरू भरिभराउ थिए । छेउको कुनाबाट एकजना बोलिरहनु भएको थियो । “समसाँझै ७ जना होटल व्यवसायीलाई प्रहरीले अपराधी जस्तै गरेर हतकडी लगाएर लग्यो ।

के आफ्नो पेशा व्यवसाय गरेर खान पाईदैन ? नागरिकका लागि सुरक्षा दिने प्रहरीबाट उल्टै व्यवसायी असुरक्षित हुनुपर्ने ? मेयरतर्फ फर्केर ठूलो स्वरमा । तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले एकोहोरो रुपमा भनिरहँदा मेयर खडकाले खुबै ध्यानपूर्वक सुनिरहनु भएको थियो र मुन्टो हल्लाएर सहमति जनाइरहनु भएको थियो । मेयरका सामु पीडाका पोकाहरू पोखिरहँदा अध्यक्ष बस्नेतको मुखबाट एउटा वाक्य फुत्त निस्क्यो, “तुलसीपुरका व्यवसायीहरु डोरी खोज्दै जाँदै गरिरहेका छन् हामी पनि त्यही बाटोमा छौ । डोरी नखोजे पनि प्रहरीले हामीलाई शिशी खोज्ने काम गराएको छ. मेयरसाब ।”

देशभरका सबै ठाउँमा होटलहरू राति ११ बजेसम्म संचालन हुँदा दाङको तुलसीपुरमा मात्रै किन ९ बजे होटल बन्द गर्नुपर्ने ? यहाँ त्यस्तो के कारण छ ? यो ठाउँम किन छुटै कानुन लगाउनु पर्ने ? यो पनि नेपाल भित्रै पर्छ होला नि कि होइन ? यदि यसको सुनुवाई भएन भने हामी आन्दोलन गर्छौ । धाराप्रवाह रुपमा अध्यक्ष बस्नेतले मेयरसंग आफ्ना गुनासाहरू व्यक्त गर्नुभयो ।

छेउँमा बसिरहनुभएका होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य नेत्र वलीको पनि मनमा त्यस्तै आक्रोश र पीडा थियो ।  “मेयरसाब तपाई हाम्रो अभिभावक हो । यो ठाउँ बनाउने तपाईंले हो । म्यादी मान्छे त एक दिन डाङडुङ गर्छन जान्छन् । तर आतङ्कित बनाउन पाइदैन । सङ्कटकाल जस्तो व्यवहार आज तुलसीपुरका होटल व्यवसायी माथि भएको छ । यसलाई हजुरले गम्भिर रुपमा लिनुपर्छ ।” केन्द्रिय सदस्य वलीले भन्नुभयो ।

होटल व्यवसायीहरूको अनुहार हेर्दा सबै क्रुद्ध हुनुहुन्थ्यो । किनकी उहाँहरूमा आफ्नै ठाउँमा लगानी लगाएर दुःख गरेर अरुका जुठाभाँडा माझेर खान नपाइने भएपछि अब के गरेर खाने भन्ने चिन्ता थियो रत संकेत रोयल क्याफेका संचालक संगित बस्यालले मान्छेलाई समसाँझै घरभित्र हुलेर बाटो खाली गरेर प्रहरीले के गर्न खोजेको हो ? अवैध धन्दा गर्ने गाडीहरुलाई वारपार गराउने वातावरण तयार गर्न ? भन्दै प्रश्न गर्नुभयो ।

“सुर्खेतबाट हिडेको गाडी सल्यानको कालीमाटीमा बिग्रीयो । साउजी राति करिब साढे १२ बजेसम्म आइपुग्छम होला । पाँचनलाई खाना पकाउनु पर्यो । होटल खुल्ला राख्नुहोला भन्दै फोन आयो । होटल खोल्ने हो प्रहरीले लगेर थुन्छ, नखोल्ने हो, ग्राहको त्यस्तो कुरा छ ? ल भन्नुस मेयर साब अब के गर्ने ?” बस्यालले भन्नुभयो । 

व्यवसायीले काम गर्ने वातावरण तयार नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका व्यवसायीले आइतबार मेयरलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सो अवसरमा पूर्व जनप्रतिनिधि नवराज लामीछानेले कानुन सम्वत दर्ता भएर राज्यलाई कर तिरेर संचानमा आएका होटलहरुलाई अवरोध गर्न नपाइने बताउनुभयो ।

“९ बजे होटल बन्द गरेर तुलसीपुरको पर्यटन विकास कसरी हुन्छ ? पालिकाको घुम्न जाउँ तुलसीपुर भन्ने नारा कसरी सार्थक हुन्छ ? सुरक्षा दिने काम प्रहरीको हो । झगडा हुन्छ । होहल्ला हुन्छ त्यसैले तिमिहरु छपक्क घरमै बस भन्न पाइन्छ ?” लामीछानेले भन्नुभयो ।

सो अवसरमा मेयर खडकाले भोलि बिहान ८ बजे प्रहरी, राजनीतिक दल, होटल व्यवसायी, तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर, नागरिक समाजका अगुवालाई बसालेर टुङ्गो लगाउने आश्वासन दिनुभयो ।  सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ९ बजेसम्म मात्रै होटल खोल्ने व्यवसायी र प्रहरी बिचको सम्झौता उलंघन गरेर १० बजेसम्म होटल खोलेको भन्दै शुक्रबार राति प्रहरीले ७ जना व्यवसायीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।