२०८३ मङ्सिर ९ गते बुधवार

जिसस दाङका प्रमुख शर्माले भने : सिमठारो र तिल्की धान खोइ ?

तुलसीपुर, २९ साउन । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले सिमठारो र तिल्की धानको उत्पादनमा जोड दिुनपर्ने बताउनु भएको छ । पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रको आयोजनामा बिजौरीमा भएको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सिमठारो, तिल्की लगायतका धानहरू लगाउन छोडेर उत्पादन वृद्धिका लागि हाइब्रिट जातका धानहरू लगाउने र रासायनिक मल तथा रोग किरा नष्ट गर्न प्रयोग गरिने विषादीले मानव स्वास्थ्य जोखिम बन्दै गएको बताउनुभयो ।

“सिमठारो, तिल्की धान खोइ ?  यी धानहरुको पनि मार्सी धान जतिकै महत्व छ । तर आज हामीले यसको खेती गर्न किन छोड्यौ । पछिल्लो समय पर्यावरणीय दिगो विकास केन्द्रले अर्गानिक उत्पादनमा जोड दिएको छ । त्यसमा पनि रैथाने सिमठारो र तिल्की धान । यो निकै प्रशंसनिय काम हो ।” शर्माले भन्नुभयो ।

दाङका १० वटै पालिकाले अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै यसका लागि जनप्रतिनिधिहरू जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वडा नं. १८ का अध्यक्ष माधव वलीले विषादीमुक्त उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै बीउ र मल वितरणमा सरकारको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । त्यसैगरी १६ का अध्यक्ष शिवानन्द डाँगीले रासायनिक मल तथा विषादीको प्रयोगलाई ‘मन्द विष सेवन’को रूपमा व्याख्या गर्दै विषादीजन्य खानपानकै कारण क्यान्सर, एन्जाईटी, मधुमेह जस्ता रोगको सिकार बन्न पुगेका बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतले सरकारले अघि सारको खाद्य सुरक्षा रणनीतिलाई व्यवहारमा कार्यान्वयन गरेमा यस्ता कार्यक्रमको आवश्यकता नपर्ने बताउनुभयो ।  सो अवसरमा विसं. २०९० सम्म दाङ उपत्यकालाई अर्गानिक उपत्यकाको रूपमा विकास गर्ने लक्ष्यसहित भए गरेका कामहरूको बारेमा जानकारी समेत दिइएको थियो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बालिका तिवारीले गर्नुभएको थियो भने सहजीकरण सचिव मेनका शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।