२०८३ जेष्ठ २५ गते सोमवार

तुलसीपुरको देवकोटा एग्रोभेटमा म्याद नाघेको १२ हजारको औंषधि बरामद 

तुलसीपुर, १६ साउन । दाङको तुलसीपुरमा रहेको देवकोटा एग्रोभेटबाट पशुपक्षीमा प्रयोग हुने १२ हजार बराबरको म्याद नाघेको औषधि बरामद  गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट खटिएको अनुगमन टोलीले देवकोटा एग्रोभेटमा बिक्रीका लागि टाँरीमा राखेका म्याद नाघेका औषधि बरामद गरेको हो । अनुगमन टोलीले पशुपक्षीका लागि प्रयोग गरिने टक्सीन वाइन्डर, एन्टि प्रोटोजोअल भिटामिन लगायतका विभिन्न औषधि बरामद गरेर आगामी दिनमा गल्ती नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ ।

तुलसीपुरको बाहिनी चोक नजिकै रहेको निश्चल एग्रोभेट सेन्टरमा म्याद नाघेको नेटिवो विषादी किसानलाई बिक्री गरेको समाचार तुलसीपुर खबर डटकमबाट प्रकाशन भएपछि अनुगमन टोली तुलसीपुरमा आएको थियो । नेटिवो विषादी विभिन्न अन्नबाली र तरकारीमा लाग्ने ढुसी र ब्लास्ट रोगबाट बचाउनका लागि प्रयोग गरिन्छ । दर्जनौँ किसानहरूले निश्चल एग्रोभेटबाट लगेको विषादीहरू म्याद नाघेको र तरकारी प्रयोग गर्दा काम नगरेर उल्टै तरकारीमा क्षति पुगेको भन्दै गुनासो गरेपछि समाचार प्रकाशित भएको थियो ।

यसैबीच अनुगमन टोलीले निश्चल एग्रोभेटमा पनि अनुगमन गरेको छ । अनुगमनको क्रममा म्याद नाघेका विषादीहरू छुटै कोठामा राखिएको पाइए पनि संचार माध्यममा म्याद नाघेको औषधि बिक्री गरेको खबर सार्वजनिक भएको भन्दै अनुगमन टोलीले सञ्चालकलाई सचेत गराएको छ । यसैबीच विपी चोकमा रहेको श्री स्वर्गद्वारी एग्री नेपाल प्रालिमा पनि अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले स्याम्पलका रुपमा तुलसीपुरका ३ वटा एग्रोभेटमा अनुगमन गरेको थियो । अनुगमणका क्रममा दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशव केसी, पशु सेवा शाखा  तुलसीपुरका प्रमुख डा. मनोज वली, कृषि विकास शाखा प्रतिनिधि शंकर न्यौपाने, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया