पर्सा,२८ असार । भारतले गण्डक सम्झौताअनुसार आवश्यक मात्रामा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानको रोपाइँमा ढिलाइ भएको छ । धानको बीउ तयार भए पनि नहरमा पानी नआएपछि किसान चिन्तित छन् ।
गण्डक सम्झौताअनुसार असार १५ देखि ८५० क्युसेक पानी दिनुपर्नेमा भारतले औसतमा ५५० क्युसेक मात्र पानी दिएको नारायणी सिँचाइ कार्यालयका प्रमुख मनोजकुमार पटेलले जानकारी दिनुभयो ।
कार्यालयका सूचना अधिकारी सुरेश साहले भारतीय पक्षलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गरिए पनि पानी पर्याप्त नआएको बताउनुभयो । बारा, पर्सा र रौतहटमा रहेको ८१ किमी लामो गण्डक नहरबाट ३७ हजार ४ सय हेक्टर जमिन सिञ्चित हुने लक्ष्य छ । तर, सम्झौता भएको ४८ वर्षपछि पनि भारतले समयमै पर्याप्त पानी नदिँदा सिँचाइ समस्या झन् गहिरिएको किसानहरूको गुनासो छ ।
प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार


















