२०८३ असार १३ गते शनिवार

डेढ अर्ब कर छलीमा व्यापारी कारागार पुगेपछि खैलाबैला

विराटनगर, १८ असार । झण्डै डेढ अर्ब रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोप लागेका एक व्यापारी कारागार चलान भएका छन् । आन्तरिक राजस्व कार्यालय मोरङले लामो समयदेखि बक्यौता तिर्न अटेर गर्दै आएका विराटनगरका हार्डवेयर व्यापारी सौरभकुमार बियानीलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । बियानीमाथि १ अर्ब ३७ करोड रुपैयाँ बराबरको भ्याट छली आरोप छ । उहाँलाई कारागार चलान गरिएपछि विराटनगरका व्यापारिक समूहमा त्रास फैलिएको छ । “सधैं मिल्थ्यो, अब किन यस्तो भयो ? “भन्दै व्यापारीहरू एकअर्कासँग कानेखुसी गर्न थालेका छन् ।

राजस्व कार्यालयले पटकपटक सार्वजनिक सूचना, फोन, पत्र र चेतावनी दिएर कर तिर्न आग्रह गर्दै आएको थियो । तर ध्यान नदिएपछि, मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार धरौटी वा नगद नबुझाएमा ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने व्यवस्थाअनुसार बियानीलाई जेल पठाइएको हो । कर नतिर्ने उद्योग र कम्पनीहरूको सूची हेर्दा विराटनगर महानगर अग्रपंक्तिमा पर्छ । यो सूचीमा पूर्व आपूर्तिमन्त्री तथा एमाले नेता मोती दुगड, उनका भाइ सतिश दुगड (नेशनल पाइप इण्डस्ट्रीज), कावरा ग्रुप, बोहोरा ग्रुप, शारडा ग्रुप, ओम महालक्ष्मी ज्वेलर्स, आरकेजी ग्रुप, टान्टिया कन्स्ट्रक्सन, विराट कवारी, अन्नपूर्ण सप्लायर्स जस्ता चर्चित व्यापारिक घरानाहरूको नाम परेको छ ।

त्यस्तै, विराट फुड प्रोडक्ट, क्वालिटी प्याक, सेफरन कंक्रिट, रिद्धिसिद्धी ईम्पेक्स, शुभ इन्टरनेशनल हस्पिटालिटी, पाथीभरा जब प्लेसमेण्ट, श्रीराम आइरन एण्ड स्टिल लगायतका कम्पनीहरूले पनि वर्षौंदेखि कर तिरेका छैनन् । आन्तरिक राजस्व कार्यालय मोरङले चेतावनी मात्र होइन, अब व्यवहारमै कडा कारबाही सुरु गरेको स्पष्ट देखिएको छ । कर तिर्न अटेर गर्ने व्यवसायीहरूलाई अब छुट नदिइने संकेत अधिकारीहरूले दिएका छन् । यस घटनाले राजस्व प्रणालीप्रति बढ्दो जन असन्तुष्टि, कर छलीको बढ्दो प्रवृत्ति र राजनीतिक संरक्षणमा हुने अनियमिततामाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार
प्रतिक्रिया