दाङ, १८ असार । रुकुममा गएराति श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । चौरजहारी नगरपालिका– ३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले गएराति करिब साढे ९ बजे ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख प्रवेश विष्टले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सामान्य विवाद पछि श्रीमानले खुकुरी झिकेपछि बाँच्नका लागि भागेकी श्रीमतीलाई लखेटी लखेटी हत्या गरेको चौरजहारी नगरपालिका –३ का वडा अध्यक्ष लालबहादुर बुढाले जानकारी दिनुभयो । घटनास्थल घर देखि करिब ५० मिटरको दूरीमा छ ।
यस अघि पनि चन्द्र बहादुरले मादक पदार्थ सेवन गरेर प्रायजसो घरमा श्रीमतीसंग झगडा गर्ने गरेको अध्यक्ष बुढाले बताउनुभयो । अभियुक्तलाई खुकुरीसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको छ । आमाको हत्या र बुवा पक्राउ परेपछि ५ देखि ११ वर्षका ३ बालबालिकाको बिचल्ली हुने भएको छ ।



