
तुलसीपुर, ३१ जेठ । दाङको तुलसीपुरबाट पैसा लुटेर भागेका ४ जना बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–४ निवासी धनिराम बिक, कुमार केसी, नन्दे भन्ने सिरिस परियार र वडा नम्बर ३ का बिसाल पोख्रेल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहोलपुर बाँकेको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ९० वटा ट्रामाडोल, ४८ नाइट्राभेट र ३८ सय नगदसहित पक्राउ गरिएको इप्रका कोहोलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिनुभयो ।
कोहोलपुर बसपार्कमा होहल्ला गरिरहेको अवस्थामा हिजो साँझ साढे ५ बजेको समयमा चेकजाँच गर्दा लागुऔषध फेला परेपछी उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरुले यही जेठ २९ गते राती साढे १० बजेको समयमा तुलसीपुर–९ को पातुखोला पुल नजिकै तुलसीपुर–७ का २७ बर्षीय राजु चौधरीको साथबाट ३९ हजार लुटपाट गरी फारार भएका थिए । सुरुमा एकजनाले फोन गर्नको लागी भन्दै मोबाइल मागेर पछी धेरैको संख्यामा आएर आफुमाथी लुटपाट भएको पिडित चौधरीले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।