तुलसीपुर, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ३३ औं कार्यपालिका बैठक सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित हुने बताइएको छ । ३३ औं कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम, बजेट तर्जुमा, वडामा तोकिएको बजेटको शिलीङ, करको दायराको वृद्धि लगायतका एजेण्डामा छलफल सुरु भएको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुयभो । बैठक बिहान साढे ८ बजेबाट सुरु भएको हो । बुधबार तुलसीपुर क्षेत्रका विभिन्न सरोकारवला निकार्यसंग नीति तथा कार्यक्रमका विषयमा पालिकाले सुझाव संकलन गरेको थियो ।
काँग्रेस र माओवादी वडा अध्यक्ष बैठकमा अनुपस्थित
तुलसीपुर उपमहागनरपालिकाको ३३ औं कार्यपालिका बैठकमा काँग्रेस र माओवादी केन्द्रका वडा अध्यक्षहरु बैठकमा अनुपस्थित हुनुभएको छ । मेयरले बहुमतका आडमा पेलेर जान खोजेकाले आफुहरुले बैठक बहिस्कार गरेको तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस संसदीय दलका नेता घनश्याम ढकालले बताउनुभयो ।
आफुहरुले अघि सारेको मागका विषयमा मेयर टिकाराम खडकाले कुनै लचकता नदेखाएपछि आफुहरु बाध्य भएर बहिस्कार गरेको ढकालले बताउनुभयो । असन्तुष्ट अध्यक्षहरले शिक्षक दरवन्दी मिलानको निर्णय खारेज गर्नुपर्ने, कर्मचारी माथि आस्थाका आधारमा विभेद गर्न नहुने, वडा बजेटको शिलिङ संशोधन गर्नुपर्ने, करको वृद्धि गर्न नहुने नहुने लगायतका माग अघि सारेको छन् ।
यता तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले शिक्षा समिति, कार्यपालिका र नगरसभाले गरेका निर्णयलाई खारेज गर्ने निर्णयमा सहमति जनाउन नसकिने बताउनुयभो । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट जस्तो गम्भिर विषयमा छलफल गर्ने, सुझाव राख्ने बेलामा अध्यक्ष ज्युहरु विभिन्न बाहनामा बाहिर बस्दा त्यसले पालिकाको राम्रो सन्देश नजाने वलीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरमा नेकपमा एमालेका मेयर, उपमेर र १० वटा वडा अध्यक्ष छन भने काँग्रेस ५, माओवादी केन्द्रका ३ र स्वतन्त्रका १ जना वडा अध्यक्ष छन् । १६ नम्बर वडा अध्यक्ष शिवान्द डिसी स्वतन्त्रबाट निर्वाचित हुनु भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।