संघिय लोकतान्त्रिक गणतन्त्र पछि देशमा पहिलो जनप्रतिनिधिको कार्यकाल सकिएर दोस्रो जनप्रतिनिधिको कार्यकाल जारी छ । तुलसीपुर उपमहानगरपालिकामा दोस्रो जनप्रतिनिधिका रुपमा भित्रिनु भएका टिकाराम खडकाले निर्वाचनको समयमा गरेका बाचा मध्य कति पुरा गर्नुभयो । भौतिक पूर्वाधारको विकास, सुशासन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कस्ता परिवर्तनहरू भए । यसै विषयमा रहेर तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कासँग सहकर्मी ओपेन्द्र बस्नेतले गरेको कुराकानी ।
वितेको तीन वर्षमा तुलसीपुर उपमहानगरमा भएका महत्वपूर्ण काम के के हुन् ?
तुलसीपुर उपमहानगरपालिकामा तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । अझै डेढ महिना बाँकी रहेकाले कालो पत्रे हुने सडकको तथ्याङ्क बढ्ने छ । म निर्वाचित भैसकेपछि तुलसी ट्रेड टावर शिलान्यास भएको हो । त्यो अहिले निर्माण सम्पन्न भएको छ । उद्घाटनको तयारीमा छ । ५५ किलोमिटर नाला निर्माण गरिएको छ । २५ वटा कल्भर्ट निर्माण, १४ वटा विद्यालय भवन निर्माण, ४ वटा स्वास्थ्य चौकी, ४ वटा वडाका भवन, ५६ वटा विभिन्न जातजातिका मठमन्दिर, प्रतीक्षालय, निर्माण गरिएको छ ।
यसैगरी पर्यटन र व्यवसायको क्षेत्रमा महत्वपूर्ण मानिने टरिगाउँ विमान स्थलको उपमहानगरको नेतृत्वमा डिपिआर तयार गरिएको छ । पर्यटकीय क्षेत्रको विकासको सन्दर्भमा छिल्लीकोट, सुकौराकोट दरबार, सुकेकोट र प्रतापकोट चमेरे गुफा लगायतका स्थानमा स्तरोन्नतिका काम भएका छन् । पर्यटकीय क्षेत्र विस्तारका काम सम्पन्न त हुँदैन तर पनि आवश्यकता अनुसार काम गरिरहेका छौँ र गर्ने छौँ । तुलसीपुर छिल्लीकोटमा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरिएको छ । त्यहाँ सुरक्षाको हिसाबले राम्रो व्यवस्था गरेका छौँ । तुलसीपुर १४ को कोट्टेडाँडामा क्रिकेट रङ्गशाला निर्माण गर्दैछौँ । रङ्गशाला निर्माणले २०/२२ बिगाहा सरकारी जग्गाको संरक्षण गर्ने अभियानका साथै खेलाडीहरूलाई पनि सहजता हुनेछ । औद्योगिक ग्राम निर्माणका लागि छुट्याएको जग्गा तारबार गरिएको छ । आधुनिक बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याएका छौँ । १९ वटै वडा कार्यालयहरूको आफ्नै प्रशासनिक भवन सञ्चालन भएका छन् । सुशासनका दृष्टिले भाडामुक्त नगरपालिका बनाएका छौँ ।
उपमहानगरपालिकामा शिक्षा क्षेत्रमा के प्रगति भएका छन् ?
शिक्षा क्षेत्रमा पनि केही उल्लेखनीय काम गरेका छौँ । शिक्षक दरबन्दी मिलानका काम भएका छन् । शिक्षकको अभावलाई परिपूर्ति गर्नका लागि पालिकाले अनुदानमा शिक्षक ल्याएको छ । २१।२२ जना विषयगत शिक्षक अनुदानमा परिपूर्ति गरेका छौँ। स्थानिय पाठ्यक्रम लागू भएको छ । थारू भाषाको पढाई संचालन गर्ने अभियानमा छौँ । विद्यालयबाट बाहिर रहेर शिक्षाबाट वञ्चित कोही पमि नहोउन् भन्ने उद्देश्यले स्थगित रहेका १५ वटा विद्यालय संचानमा ल्याएका छौँ। मावि तुलसीपुर सेन्टर स्कुल देशभरका विद्यालयमा उत्कृष्ट भयो, पुरस्कार जित्न सफल भयो । मेट्रो कलेज पनि उत्कृष्ट भएको विद्यालय हो । यी पनि शिक्षा क्षेत्रमा भएका गौरवपूर्ण उपलब्धि हुन् ।
कक्षा स्थगन भएका विद्यालयमा कक्षा सञ्चालन भएका छन् । सामुदायिक विद्यालयहरूमा तहगत अनुरूप प्रधानाध्यापकको व्यवस्थापन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजमा विए. एल. एल. वि, ब्याचलर इन फार्मेसी, फुड एण्ड डेरी र विभिन्न प्राविधिक धार तर्फ गरी जम्मा ७५३ बिद्यार्थी अध्ययनरत छन । जसमा ३०० जना विद्यार्थीहरु तुलसीपुर उपमहानगरपालिकाको अनुदानमा पूर्ण छात्रबृत्तीमा अध्ययनरत छन् । संस्थागत विद्यालयहरुका छात्रवृत्ति कोटा निर्धारण कार्यान्वयन भएको छ । आधारभूत तहमा सूचना प्रविधि सामग्री हस्तान्तरण भएका छन् । २८ वटा सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण र आ.व.२०८१/०८२ मा थप ५ सामुदायिक विद्यालयमा कोठा निर्माण हुदैँ छन् । विभिन्न विद्यालयहरूमा अक्षर सुधार कार्यक्रम संचालन भएका छन ।
सामुदायिक विद्यालयमा जागिर खाने र छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउने प्रवृतिको अन्त्य गर्ने अभियानमा छौँ । सामुदायिक विद्यालय विग्रियो, खस्कियो भन्ने तर ती सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने कारणले सरकारी विद्यालयको अवस्था कमजोर हुँदै गएको हो । जवसम्म सरकारी विद्यालयका शिक्षकले आफ्ना सन्तानलाई आफूले पढाउने विद्यालयमा पढाउँदैनन् तव सम्म सामुदायिक विद्यलयको शिक्षामा सुधार ल्याउन सकिदैन । त्यसैले सबै सरकारी विद्यालयका शिक्षकहरुलाई निर्देशन जारी गरेका छौँ । उर्दि जारी गरेका छौँ । सबै शिक्षक, अभिभावक, राज्य सबै मिलेर अगाडि बढेमा सामुदायिक विद्यालयको शिक्षा र नतिजालाई सुधार्न सकिन्छ भन्ने अभियानमा छौँ र त्यसै अनुरुपका कार्यलाई अगाडि बढाएका छौँ ।
शुसासनको क्षेत्रमा भएका प्रगति तथा सुधार के के हुन् ?
म मेयर भएको पहिलो बैठकमा कर्मचारी, जनप्रतिनिधि कसैले पनि कमिसन खाएर कमाउने बाटो बन्द गर्नुहोला भनेको थिए । काम गुणस्तरको गरौँ तर कसैले कसैलाई कमिसन दिन मिल्दैन र लिन पनि मिल्दैन । कमिसन दिने लिने काम गलत हो । किन भने यो नागरिकले रगत पसिना बगाएर कमाइ, राज्यलाई तिरेको करको पैसा हो । कर्मचारी र जनप्रतिनिधि जनताका सेवक हुन । जनताका सेवा गर्न आएका हुन् । राज्यले उपलव्ध गराएको बाहेक अन्य सेवासुविधा लिन पाइने छैन भनेर मैले भनेको थिएँ । सोही अनुसार उपमहानगरको बेरुजु कम हुँदै गएको छ भने राजस्वमा सुधार हुँदै गएको छ । तर पनि म आलोचनाको निशानमा छु । म किन आलोचनाको निशानामा छु भने मैले भ्रष्टार विरुद्ध आवाज उठाएँ । कसैलाइ पनि भ्रष्टार गर्ने काम गर्न दिइन । त्यसैले मलाई आचोलनाको निशाना बनाइएको छ । मैले सुशासनलाई पारदर्शी बनाउन खोज्दा मेरो अभियान विरुद्ध सहकर्मी जनप्रतिनिधिहरु पनि सडकमा आउनुभयो । अहिले पनि हुनुहुन्छ । मैले त शुसासनलाई पारदर्शी बनाउ भन्ने मात्रै सोचेको हुँ । ताकी हाम्रो काम गतिविधि देखेर अन्य पालिकाले पनि सिको गरुन् । तुलसीपुरमा वेरुजु घट्दै आएको छ । तर साथीहरुले नबुझेर उल्टो प्रचार गरिदिनुहुन्छ । होला अन्य पालिकाको तुलनामा धेरै बेरुजु आएको, तर यही तुलना गर्ने हो भने विगत भन्दा कमी आएको छ । हामीले शुन्यमा झार्ने योजनाका साथ काम गर्न वातावरण बनाउने प्रयासमा छौँ ।
निर्वाचित भएर आएपछि पदभार ग्रहण गर्ने क्रममा भूमिहीनलाई जग्गाको लालपूर्जा दिने तपाईको पहिलो एजेण्डा थियो । किनकी तपाइ आफु पनि सुकुम्बासी मेयर हो । वितरणका लागि काम कहाँ पुगेको छ ?
तुलसीपुरको वडा नंबर ६ मा १ हजार २ सय ६५ कित्ता जग्गा नापजाँच भएको छ । अहिले पनि नापजाँचको काम भैरहेको छ । यहाँ अन्तिम चरणमा पुगिसकेको छ । त्यसपछि अन्य वडामा सुरुवात गर्नेछौँ । तपाईसंग् कुरा गर्दासम्म हालसम्म ७ लाख ३४ हजार ७ सय ७९.९८७ वर्गमिटर क्षेत्रफल जग्गाको नापजाँच पूरा भइसकेको छ । यसबाट १२ सय ६५ कित्ताका नक्सा तयार गरिएको छ । छ नम्बर वडामा ६२ भूमिहिन दलित, १७३ भूमिहिन सुकुमबासी, र ६८५ अव्यवस्थित बसोबासीको नक्सा तयार गरिएको छ ।
तपाइले नै लालपुर्जा वितरण गर्नुहुन्छ ?
हो, मैले नै गर्छु । अव त वितरण गर्नका लागि धेरै समय पर्खिनु पर्ने छैन । वितरण हुन्छ , ढुक्क हुनुस् । जग्गा नाँपजाँच गर्ने बेला पनि तपाइ जानु भयो फोटो खिच्नलाइ र अव वितरण गर्दा पनि तपाइले नै फोटो खिच्नुपर्छ ।
गरिब परिचय पत्र नहुँदा क्यान्सर, पक्षघात, मुटुरोगी जस्ता दीर्घरोगी र गरिब, विपन्न परिवारका विरामी समस्यामा परेका छन्, यो समस्या हल गर्नका लागि कै गर्दै हुनुहुन्छ ?
यसमा हामी निरन्तर लागिरहेका छौँ । स्वयम् म आफैँ चिन्तित छु । गत वर्षको बजेट फ्रिज भएर गयो । त्यो भन्दा पहिलेको वर्ष गरी २ आर्थिक वर्षको पैसा फ्रिज भयो । एकातिर सेवा सुविधा पाउनु पर्नेले पाउन सकेका छैनन् , अर्कोतिर रकम फ्रिज भएर जाँदा म आफैलाई लज्जित र हिनताबोध भएको छ । तर यसपाली भर्खरै निर्णय गरेका छौँ । अब पाउनुहुन्छ । यसैगरी केन्द्रमा विवरण पठाएका छौँ । प्रक्रिया मै छ, तर हामी छिटै यो काम पनि पुरा गर्नेछौँ ।
मेयर स्वास्थ्य कार्यक्रम कतीको प्रभावकारी भएको छ ?
प्रभावकारी छ । दुधरासदेखि छिल्लीकोट सम्म दौडको अभियान संचालन गरेका थियौँ । १० किलोमिटर दुरीमा । तुलसीपुरका हरेक वडामा योगाहलहरु निर्माण हुँदैछन् । अहिले टोलटोलमा योगहरु गर्छन् । यो पनि मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत नै हुन् । पाठेघरमा हुने क्यान्सरबाट बचाउनका लागि स्क्यानिङ गर्ने काम पनि भैरहेको छ । गत वर्ष ११ सय र यस वर्ष ८ सय जना महिलाको पाठेघरको स्क्यानिङ गर्ने काम सम्पन्न भएको छ । तुलसीपुरका ३ स्थानमा बालबालिकाहरुको मुटुको जाँच गरिएको थियो । बालकालिकामै पनि मुटुको समस्या देखिनसक्छ है भनेर बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको संयोजनमा गरिएको परीक्षणमा एक जना बालकमा मुटुको समस्या देखिएको थियो ।
तुलसीपुरलाई सुन्दर बनाउने के सपना देख्नु भएको छ ?
तुलसीपुरमा इलाइबेरी अर्थात सार्वजनिक पुस्तकालय भवन निर्माण हुँदैछ । वडा नंबर ७ को खर्चहवामा पुस्तकालय असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी सुरु गरिएको छ । तुलसीपुर ६ मा सभाहलको निर्माणको काम अगाडि बढेको छ । चिल्ड्रेन पार्क निर्माण गर्ने योजना छ । तुलसीपुरमा हाइमास्ट लाइटको व्यवस्थापन गरेका छौँ । अरनिको मैदानलाई व्यवस्थित बनाउने अभियानमा छौँ । शौचालय निर्माण गरेका छौँ । उद्घाटन गर्न बाँकी छ । अव चेन्जिङ रुम पनि निर्माण गर्ने योजनामा छौँ । मेरै पालामा अरनिको मैदान व्यवस्थित खेल मैदान बन्नेछ । शहरको सौन्दर्यका लागि एकपछि अर्को काम गर्दै छौ ।






