तुलसीपुर, २३ बैशाख । “जन्मदिन मनाउने तरिका फरक हुन सक्छ, तर भावना एउटै — मानवीय सेवा ।” यही सोचका साथ दाङको तुलसीपुरका युवा व्यवसायी यज्ञ बहादुर केसीले आफ्नो जन्मदिन विशेष बनाउँदै एक अत्यन्तै कठिन परिस्थितिमा जीवन यापन गरिरहेको दृष्टिविहीन परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ । व्यवसायी केसीले रुकुम सानोभेरी गाउँपालिका–३ घर भई दाङको तुलसीपुर–४ रक्षाचौरमा भाडामा बस्दै आएको रुपा गन्धर्वको परिवारलाई घर निर्माणका लागि २५ हजार रुपैयाँ नगद सहयोग गर्नु भएको हो ।
यसअघि पनि केसीले सोही परिवारलाई १५ हजार रुपैयाँ बराबरको निर्माण सामग्री प्रदान गरिसक्नु भएको छ । रुपा गन्धर्वका चार सन्तानमध्ये गणेश, गंगा र जमुना पूर्ण रूपमा दृष्टिविहीन छन् भने जेठी छोरी मनिषा दृष्टिविहीनसँगै मानसिक र शारीरिक रूपमा पनि अपांगता हुनुहुन्छ । यस्तो अपांगता भएको परिवारमा आमा रुपा एक्लैले छोरी–छोरालाई हेरचाह गर्दै आउनु भएको छ । रुपाले भन्नुभयो, “२०६८ सालमा जब मेरा सन्तान दृष्टिविहीन जन्मिए, श्रीमान्ले हामीलाई घरबाट निकालिदिए । त्यसपछि म दाङ आएकी हुँ र यतिखेरसम्म पनि संघर्षकै जीवन बिताउँदै छु ।’’
हाल दाताहरूको सहयोगमा परिवारका लागि घर निर्माणको अभियान सञ्चालनमा आएको छ । अभियानका सदस्य तथा पत्रकार शरद रेग्मीका अनुसार सो घर निर्माणका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । दृष्टिविहीन सन्तानहरूका लागि स्थायी आश्रय बनाउने सपना बोकेकी आमाको साथमा अब यज्ञ केसीजस्ता सहयोगी हातहरू पनि जोडिन थालेका छन् । यस्ता सहयोगहरूले समाजमा सकारात्मक ऊर्जा र सहभाव फैलाउने निश्चित देखिन्छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।