तुलसीपुर, १७ बैशाख । आज जौको सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन सातु खाएर अक्षय तृतीया मनाउने गरिन्छ । यसै दिनको अवसरमा तुलसीपुर ९ शिवपुर निवासी ८८ वर्षकी सिता बस्यालले विगत ३२ वर्षदेखि सातु बाँड्दै आउनु भएको छ ।
उहाँले सातु बोकेर बिभिन्न कार्यालय तथा पसलहरूमा पुग्ने गर्नुहुन्छ । धर्म आर्जन गर्ने भन्दै प्रत्येक वर्ष ३ /४ पाथी जौँ पिसेर सातु तयार गरी बाँड्दै हिड्ने गरेको उहाँले बताउनुभयो । सातु चना, जौ जस्ता गेडागुडी अन्नलाई भुटेर तयार पारिएको पीठो हो ।
यस दिन गरेको स्नान, दान, ध्यान, जप लगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा रहेको छ ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रमा उल्लेख छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने गर्छ । हिन्दु धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन् ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।