तुलसीपुर २४ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको पर्यटकीय स्थल राप्ति शान्ती उद्यान पार्कको हाताभित्र रहेको गणेश मन्दिरमा राम नवमी व्रतको अवसरमा आज भजनकिर्तन तथा प्रसादी वितरण कार्यक्रम गरिएको छ । राप्ति शान्ती उद्यान पार्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा टाढाटाढाबाट पनि भक्तजनहरुको सहभागिता रहेको पार्कका व्यवस्थापक खेमराज विश्वकर्माले जानकारी दिनुभयो । सो अवसरमा राप्ति शान्ती उद्यान पार्कका कोषाध्यक्ष डुण्डमान पराजुलीले भगवान रामको सम्झनामा एक दिन मात्र भजन किर्तन नभई सधैभरी उहाँको सत्य कर्मलाई सवैले आत्मसाथ गर्न आवश्यक रहेको वताउनुभयो । यस्तै श्रीमद् भागवत सेवा समिति तुलसीपुरका अध्यक्ष जागेश्वर भण्डारीले वैदिक सनातन धर्मको आस्था,संस्कार र सस्कृतिलाई संरक्षण गर्न भजन किर्तन, भगवानको पुजा आरधाना र सत्य कर्म आवश्यक रहेको बताउनुभयो ।
यसैविच चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइएको छ भने बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत देशभरका मठ मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड लागेको थियो । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको र भगवान् राम १४ वर्षको वनवासबाट असत्य माथि सत्यको विजयी प्राप्त गरी अयोध्या नगरी फर्किदाको खुशीयालीमा भक्तहरुले खुशी मनाएको दिनको सम्झनामा हिन्दु धर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने र भजनकिर्तन गर्ने गरिन्छ । भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।
यसैविच राष्ट्रपति रामचन्द्र पौडेलले पनि राम नवमी पर्व, २०८१ को शुभकामना व्यक्त गर्नुभएको छ । शताब्दी यौँ देखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राम नवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइने वताउनुभयो । “राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । राम नवमीको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।