२०८३ भाद्र २५ गते बिहिवार

१४ करोडमा बन्यो तुलसी ट्रेड टावर 

तुलसीपुर, १५ चैत्र ।  दाङ  तुलसीपुर उपमहानगरको गौरवको योजनाको रुपमा रहेको ६ तलाको  तुलसी  ट्रेड टावर (व्यापारीक भवन) को निर्माण कार्य पुरा भएको छ । समय अगावै १४ करोड लागतमा अत्याधुनिक सुविधा सम्पन्न पहिलो व्यापारिक भवन तुलसीपुरमा बनेको हो । भवन निर्माणका लागि समानान्तर, डायनामिक र नारायणम जेभिले १४ करोड ४२ लाख रुपैयाँमा ठेक्का लिएको थियो । २०८१ चैत्र मसान्त भित्र निर्माण कार्य पुरा गर्नेगरी निर्माण कम्पनीले २०७८ चैत्र १२ गते सम्झौता गरेको थियो ।

यद्यपि एक महिना अघि नै निर्माण कार्य पुरा गरेको निर्माण कम्पनीले बताएको छ । अन्डरग्राउण्डमा पार्किङ, पहिलो तला व्यापारिक, तेस्रो र चौथो तला प्रशासनिक, पाँचौ तला सेमिनार हल र छैठौ तला रेष्टुरेन्टका रुपमा प्रयोग गरिने छ । तुलसी टावरमा दुइटा लिफ्ट र एउटा र्‍याङसहितको विद्युतबाट चल्ने सिँढी पनि राखिएको छ ।  सरकारी स्तरबाट बनेको जिल्लामै सबैभन्दा ठूलो र आधुनिक व्यापारिक भवन भएको इन्जिनियर पवन योगीले बताउनुभयो ।

२३ करोडमा टेन्डर आह्वान गरिए पनि निर्माण कम्पनीले साढे १४ करोडमा ठेक्का लिएको थियो । कुल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण भएको हो । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण भएको भवनको साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको छ । शहरलाई व्यावसायिक दृष्टिकोणले नयाँ उचाइमा पुर्‍यायो : मेयर खडका यता तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले तुलसी ट्रेड टावरको निर्माण कार्यले शहरलाई व्यावसायिक दृष्टिकोणले नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो । उपमहानगरपालिकाले यस परियोजनामा धेरै लगानी गरेको छ । र यसको परिणामस्वरूप, तुलसीपुरको व्यवसायिक परिवेशमा सुधार आउने अपेक्षा हामीले गरेका छौ । एउटै भवनभित्र सहज रुपमा व्यवसायिक सुविधा  प्राप्त गर्न सकिने छ । यसले नगरको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ ।’  खड्काले भन्नुभयो ।

तुलसीपुरलाई समृद्ध बनाउनका लागि उपमहानगरले देखेका धेरै सपनाहरू मध्य एउटा सपना पुरा भएको बताउँदै यसलाई केही समय भित्रै सञ्चालनमा ल्याउने मेयर खडकाले बताउनुभयो । तुलसी टावर तुलसीपुरबासीका लागि गौरवको योजना र प्रतिष्ठाको विषय भएकाले सबैले यसमा गर्व गर्नुपर्ने उहाँले बताउनुयभो । 

 

 

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।