२०८३ कार्तिक ९ गते आइतवार

दिपशिखा यसरी सधैका लागि अस्ताइन्….

तुलसीपुर, ३ चैत्र । सनिबारको दिन विद्यार्थी जीवनमा एकदमै महत्वपूर्ण हुन्छ । सनिबार हरेक विद्यार्थीको लागि खुशीको दिन हो । विद्यार्थी जीवनमा सनिबार आउन कतिदिन बाँकी छ भन्दै औँला भाँचीभाँची दिन नगन्ने विद्यार्थी सायद कमै हुन्छ होला । सनिबार स्कुल छुट्टी हुन्छ । विद्यार्थी जीवन नै चंचले उमेरको हुन्छ । पढ्ने, लेख्ने बाहेक विद्यार्थी जीवनमा सनिबारको दिन भिन्नै योजनाहरु हुन्छ । सनिबार नुहाइधुहाई गर्ने, सरसफाइ गर्ने अनि खेल्ने साथीहरुसँग रमाउने दिन हो ।

दिपशिखा के गर्दै थिइन् ? तुलसीपुर–९ गौरीशंकर टोलस्थित अण्टीको कोठामा बसेर पढ्दै आएकी सल्यानको छत्रेश्वरी–२ की ९ बर्षीया दिपशिखा वलीको ट्याक्टरले ठक्कर दियो र उनको घटनास्थलमै मृत्यु भयो । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्ड अन्र्तगत अटो भिलेजतर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले हिजो सनिबार दिउँसो सवा २ बजेको समयमा अटो भिलेज नजिकै ठक्कर दिएको थियो । दिपशिखाको हजुरआमा नाता पर्ने निर्मला थापाका अनुसार बिदाको दिन भएकाले भर्खर नुहाएर दिपशिखा पसलमा गएकी थिइन् । पसलबाट फर्केर घर पुग्न नपाउँदै अकालमा ज्यान गयाे ।

उनी आफ्नो बुवाआमाका एक्ली सन्तान थिइन् । उनका हजुरवुवाहुजरआमा सबै जना सल्यान बस्नै भएकाले  उनी विगत ३ वर्षदेखि पढ्नका लागि भनेर अन्टिसँग बस्दै आएकी थिइन् । दिपशिखा जन नमुना इङलिश् बोडिङ स्कुल कक्षा ३ मा पढ्दै आएकी थिइन् । विद्यालयका शिक्षकहरुका अनुसार उनको पढाई राम्रो थियो । उनी सो विद्यालयमा यूकेजीदेखि पढ्दै आएको विद्यालयले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सनिबारको दिन एक त चहलपहल कम हुन्छ त्यसमा पनि दिउँसोको समय । यो चैत महिनाको दिउँसोको गर्मीमा सबैजना शीतलताको ओत लाग्न घरभित्रै बसेका थिए । जव बाहिर विस्पोटक पदार्थ पट्किए जस्तै आवाज सुनियो, त्यसपछि बल्ल स्थानियहरु बाहिर निस्किए । बाहिर हेर्दा त्यो पट्किएको आवाज कुनै पनि विस्पोटक पदार्थ नभएर दिपशिखालाई ट्याक्टरले ठक्कर दिदा लागेको चोटको आवाज थियो । एक्कासी टाउकोमा चोट लाग्दा निस्किएको आवाजले सबैलाई बाहिर निस्किने वातावरण त बनायो तर त्यो आवाज नै दिपशिखाको लागि अन्तिम बन्यो । बाहिर आउँदा ट्याक्टर केही दुरीको फरकमा छोडेर चालक भागेको थियो । ती सबै दृश्य सिसि क्यामरामा कैद भएका छन् ।

दिवशिखाको बुवाआमा कहाँ हुनुहुन्छ? दिपशिखाको आमा सुशीला वली वैदेशिक रोजगारको क्रममा कतार र बुवा दुर्गालाल वली भारत बस्ने भएकाले उहाँको हेरचाह, पालनपोषण मामाघरको अन्टीले गर्दै आउनु भएको थियो । दुर्गालाल आज दिउँसो करिव ३ वजे मात्रै भारतबाट तुलसीपुर आइपुग्नु भयो भने आमा सुशीला कतारबाट काठमाण्डौँ आएको र त्यहाँबाट नेपालगञ्ज हँुदै तुलसीपुर आउँदै हुनुहुन्छ । एक्ली सन्तान दिपशिखाको भविष्यका लागि भनेर उहाँहरु प्रदेश जानु भएको थियो ।

आफन्तले के भन्नुहन्छ ? घटना घटेको २४ भण्टा भन्दा बढी बितिसक्दा पनि एउटा चालकलाई पक्राउ गर्न नसक्नु प्रहरी प्रशानको कमजोरी रहेको पीडितहरुले आरोप लगाएका छन् । दिपशिखाको छिमेकी आफन्ती नाता पर्ने एक महिलाले नेपालको कानुन र प्रहरी प्रसाशनको नै कमजोरी रहेको आरोप लगाउनु भयो । २४ घण्टासम्म भारत लगायत अन्य देशको जस्तो कानुन भएको भए केही न केही हुन्थ्यो होला तर नेपालको कानुन कति फितलो छ, भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ, उहाँले भन्नुभयो– ‘चालकको लाइसेन्स नभएकाले अर्को उसको दाइको लाइसेन्स छ रे त्यसैमा कुरा मिलाउने हल्ला सुनेका छौँ तर हामीले कदापी मान्नेवाला छैनौँ । दोषीलाई कारवाही हुनैपर्छ, हामीलाई न्याय दिनुपर्छ । दिपशिखाको आमावुवाको माग जे छ त्यो पुरा गर्नुपर्छ ।’

वसपार्क क्षेत्रमा किन धेरै दुर्घटना हुन्छः स्थानिय बसपार्क भनेको बस विसौनी हो । जुन ठाउँबाट आइपनि बस बिसाउने भनेको बसपार्क क्षेत्रमा हो । ‘तुलसीपुरको बसपार्कमा यात्रुहरुलाई ओराल्ने र चालकहरु खाजानास्ता, खानतिर लाग्ने र सवारी साधन सहचालकको हात लगाएर ग्यारेजतिर पठाउने गरिन्छ ।

ग्यारेजमा जाने गाडी कस्ता हुन्छन् भन्ने त हामीले सहजै अनुमान लगाउन सक्छौँ । राम्रो नविग्रेको गाडी भए किन ग्यारेज पठाउनु प¥यो ? यदि गाडी विग्रिएको छ भने किन चालक आफैँ लिएर जान सक्दैनन्,’ नाम नभन्ने शर्तमा एक स्थानिय महिलाले भन्नुभयो । विग्रिएका मर्मतका लागि गाडी ग्यारेज जाने भएकाले चालक आफैँले ग्यारेजसम्म लैजाँदा सवारी दुर्घटनामा केही कमी ल्याउन सकिने पो थियो भन्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

दिपशिखाको न्यायका लागि भन्दै हिजो राती अबेरसम्म आफन्तहरुले प्रदर्शन गरेका थिए । जुन विरोध प्रदर्शनमा ६/७ वर्षदेखिका बालबालिकाहरुको पनि सहभागिता रहेको थियो । दिउँसो करिव २ वजे घटेको दुर्घटनामा ज्यान गुमाएकी दिपशिखाको राती १२ वजेतिर मात्रै शव उठाएर अस्पताल ल्याइएको थियो ।

प्रहरीको प्रतिक्रिया के छ ?

यता दिपशिखाको बुवाआमा दुवैजना आइपुगेपछि मात्रै छलफलको थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर चालक अझै फरार रहेकाले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । दिपशिखाका शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।