मेयर खडकाको सामर्थ्यले उठ्नेभयो खेर गइरहेको लाखौ राजश्व 

तुलसीपुर, ११ फागुन । तुलसीपुर उपमहानगरपालिकाको सामर्थ्यले लाखौ राजश्व सङ्कलन हुने भएको छ । मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९ कार्यान्वयनमा आएपछि मेला महोत्सवबाट करिब ३० लाख राजश्व सङ्कलन हुने निश्चित भएको हो ।  कार्यपालिकाको निर्णय तथा महोत्सव व्यवस्थापन कार्यविधि अनुसार मेला लगाउनु पूर्व २५ लाख राजश्व बुझाउनुपर्ने र मनोरञ्जन, सरसफाइ तथा जग्गा बहाल कर समेत लाग्ने मापदण्ड बनाएपछि उक्त रकमको सुनिश्चिता भएको हो ।  पुस १९ गते बसेको २८ औं कार्यपालिका बैठकले कार्य विधिलाई टेकेर तुलसीपुरमा मेला लगाउँदा स्थानीय सरकारको रुपमा रहेको तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनु पर्ने निर्णय गरेको थियो ।

मेला आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर उपमहानगरपालिकालाई  महोत्सव संचालन गरे वापत २५ लाख, सरसफाइ बापत ५० हजार र जग्गा बहाल कर बापत २ हजार राजश्व बुझाइसकेको छ । आयोजकले  मेलाअवधिभर  २५ हजारमा जग्गा भाडामा लिएको सम्झौता पेश गरेपछि पालिकाले सोका आधारमा बहाल  कर लिएको हो । 

त्यसैगरी मनोरञ्जन शुल्क बापत बिक्री भएको टिकट अनुसार ५ प्रतिशतका दरले  आर्थिक रकम आयोजकले पालिकालाई बुझाउनुपर्ने छ । तुलसीपुर महोत्सवबाट विभिन्न शिर्षकबाट सबै मिलाएर करिब ३० लाख बढि राजश्व संकलन हुने अपेक्षा लिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले जानकारी दिनुभयो । यसअघि वर्षौदेखि तुलसीपुरमा दर्जनौँ सङ्ख्यामा मेला महोत्सव लागेपनि तुलसीपुर उपमहानगरपालिकाले एक लाख भन्दा बढी राजश्व लिन सकेको थिएन । यसमा नेतृत्वको ठूलो भूमिका रहने बताउँदै प्रमुख प्रशासकीय अधिकृत डाँगीले कार्यपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्ने दायित्व आफ्नो भएको बताउनुभयो ।

के भन्छन् मेयर खडका ?
तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले सुरुमा निर्णयको आलोचना भएपनि पछि नगरबासीले सकारात्मक रुपमा लिएको बताउनुभयो । महोत्सवलाई भविष्यमा आर्थिक स्रोतको रूपमा उपयोग गर्ने गरि थीती बसाल्न मात्र खोजेको मेयर खडकाले बताउनुभयो ।

‘मेला संचालनका लागि २५ लाख रुपैयाँ राजश्व लिने निर्णय कार्यपालिका बैठकमा  हुँदैछ, भन्ने सूचना कताबाट चुहावट भएछ । मेला लगाउने सम्भावित आयोजक संस्थाले ठूलो रकम न तोक्न निरन्तर दबाब दिए । तर करोडौँ आर्थिक कारोबार हुने मेलामा यसो हुनसक्दैन भनेर निर्णय गरियो । आखिर फाइदा त हुने रहेछ । राजश्व बुझाएर मेला लागेकै छ ।’ मेयर खडकाले भन्नुभयो ।

 ठूलो उपलब्धीका रुपमा लिनुपर्छ : नागरिक अगुवा 

तुलसीपुर उपमहानगरपालिकाले चालेको कमदलाई ठूलो उपलब्धीका रुपमा लिनुपर्ने नागरिक अगुवाहरूले बताएका छन् । मेयर खडकाले हिक्मत गर्दा वार्षिक रुपमा ठूलो आम्दानीको स्रोत भेटिएको बताउँदै नागरिक अगुवा टिकाराम रेग्मीले राम्रो कामको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।

‘मेला लगाउने विषयमा किन एक आपसमा झगडा हुन्छ भन्दा त भित्रभित्रै यति ठूलो नाफा हुँदो रहेछ । कयौँपटक मेला पनि लगेका थिए । तर यति ठूलो रकम जम्मा हुन सकेको थिएन । यसले के देखायो भने एउटा मेयरको पालामा मेलाबाट मात्रै डेढ करोड राजश्व सङ्कलन हुनेभयो । यो असाध्यै राम्रो काम हो । मेयरलाई धन्यवाद दिनुपर्छ ।’ नागरिक अगुवा रेग्मीले भन्नुभयो ।

करोडौँको कारोबार हुने मेला महोत्सवमा बिचौलिया हाबी भइरहेका बेला स्थानीय सरकारले आफ्नो भूमिका देखाउँदा त्यतिकै खेर गइरहेको आर्थिकको ठूलो हिस्सालाई समेट्न पालिकाले  गरेको निर्णयले दिर्घकालिन रुपमा ठूलो प्रभाव पार्ने बताइएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया