अख्तियारलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ, २९ मंसिर ।  मुद्दा मिलाइदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछापको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग जोडिएको एउटा मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेशिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानका क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रुपैयाँ रकम रहेको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घुस दिने उद्देश्यले ल्याएको रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको कञ्चनपुर कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका हुन् ।।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया