पोखरा, २५ कात्तिक । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १३ दिनको म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो। यसअघिको १० दिने म्याद सकिएपछि प्रहरीले आज आइतबार उनलाई अदालत पेस गरेको थियो। सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार