तुलसीपुर, १२ कात्तिक । दाङको तुलसीपुरमा रहेको न्यु सिन्दुर किराना पसलले रङ मिसाएको मासको दाल देखि म्याद गुज्रेका अखाद्य उपभोग्य सामानहरू बेच्ने गरेको खुलासा भएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले चाडपर्व लक्षित गरेको अनुगमनका क्रममा मासको दालमा रङ लगाएको भेटिएपछि १५ किलो अखाद्य मासको दाल बरामद गरिएको छ । रङ लगाएको मासको दाल स्वास्थ्यका लागि अति हानिकारक मानिन्छ । झ्वाट्ट हेर्दा कालो र राम्रो देखिने उक्त अखाद्य दाललाई पसलका सञ्चालक कृष्ण पोख्रेलले प्रति किलो २ सय रुपैयाँका दरले बेच्दै आउनु भएको थियो ।
न्यु सिन्दुर किराना पसल तुलसीपुरमा नाम चलेको र किनमेलका लागि अत्यन्तै भिडभाड हुने पसल हो । जहाँ दैनिक लाखौ कारोबार हुने गर्दछ । अनुगमन टोलीले म्याद गुज्रेको भन्दै बेसनको पिठो, मसला, डाइजेस्ट बिस्कुट, कुकिज समेत बरामद गरेको छ । अनुगमनका क्रममा उद्योगको नाम उल्लेख नगरेको ठूलो परिमाणको किसमिस र ओसिलो (भिजेको जस्तो) चिनी समेत फेला पारेपछि कम्पनीको नाम उल्लेख गर्न र सुख्खा चिनी बेच्न सुझाव दिइएको छ ।
उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले अनुगमनका क्रममा न्यु सिन्दुर किराना पसलमा बारम्बार त्रुटीहरू देखिने गरेकाले सुध्रिनका लागि अन्तिम पटक मौका दिएको र अर्को पटक पनि यस्तै गल्ती भेटिएमा कारबाही प्रकृया अघि बढाइने बताउनुभयो । अनुगमन टोलीले सडक पेटीसम्म सामान राखेर आवतजावतमा अवरोध पु¥याएको भन्दै सामान हटाउन र नवीकरण समेत नगरेकाले ३ दिनभित्र नबिकरण गर्न पसल सञ्चालक पोख्रेललाई निर्देशन दिएको छ । अनुगमन टोलीले पसलबाट अखाद्य वस्तु बरामद गरेको देखेपछि किनमेलका लागि आएका केही सर्वसाधारणहरू ठगिने डरले धमाधम फर्किएका थिए ।
किसमीसमा उद्योगको नाम नभेटीएपछि खोज्दै संचालक कृष्ण पोख्रेल र अनुगमनकर्ता
त्यसैगरी गुप्ता सञ्चार एण्ड किराना पसललाई पनि अनुगमन टोलीले खाद्य र अखाद्य वस्तु एउटै ठाउँमा नराख्न, चिनीको प्याकेटमा केमिकल युक्त कागज नराख्न, नक्कली कालो चुकलाई नष्ट गर्न र ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले तीनवटा किराना पसल र केही मिठाई पसलमा समेत अनुगमन गरेको थियो ।
के भन्छ कानुनले ?
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी ऐन २०८१ को दफा ४२ को खण्ड (घ) बमोजिम मानव उपभोगका लागि अनुपयुक्त तथा मानव स्वास्थ्यलाई असर गर्ने गरि रङ मिसाइएका अखाद्य वस्तु बिक्रीवितरण गर्नेलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । तर बनेको कानुन, कानुनमा मात्रै सीमित रहँदा हजारौं उपभोक्ताहरू दिनदहाडै ठगिने गरेका छन् ।
यता उपभोक्ता अधिकार कर्मीले कानुनलाई कडाइका साथ सम्बन्धित निकायले कार्यान्वयन नगर्दा यस्ता समस्याहरु दोहरीरहने बताएका छन् । अनुगमनमा गएर मिसावटयुक्त र म्याद नाघेका अखाद्य बस्तु बरामद गर्दैमा कुनै परिवर्तन नआउने भन्दै अधिकार कर्मी राजन गौतमले पसल शिल गर्ने देखि लिएर मुद्दा नचलाउँदा सम्म उपभोक्ता ठगिरहने बताउनुभयो ।
‘गुणस्तरीय वस्तु तथा सेवा पाउनु उपभोक्ताको संवैधानिक अधिकार हो । तर बजारमा पैसाले किन्दा समेत राम्रो सामान पाइदैन । यो भन्दा बिडम्बना के हुन्छ ? गुणस्तरीय सामान नपाउँदा, उपभोक्ताको पैसा पनि खेर गयो स्वास्थ्यमा पनि जोखिम बढ्यो । यो भन्दा ठूलो उपराध अरु के हुन्छ ? ’ उपभोक्ता अधिकारकर्मी गौतमले भन्नुभयो । चाडपर्वकाे समयम सबैभन्दा बढी ठगिने भएकाले सामान किन्दा नागरिकहरु सचेत हुनुपर्ने बताउदै अधिकारकर्मीले अनुगमनकाे पाटाेलाई निरन्तरता दिनु पर्ने बताउँछन्
अनुगमन टोलीमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका पदम बराल, सुदर्शन गोसाइ, तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य भिमबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका माधव बस्नेत, उपमहानगरका खेमकान्त पाण्डे लगायतको सहभागिता रहेको थियो ।