विश्वकपको उद्घाटन समारोहलाई भव्य बनाउन यस्तो छ रुसको तयारी

आफ्नो भूमिमा पहिलो पटक  आयोजना हुन लागेको विश्वकपका लागि रसियाले भव्य तयारी गरेको छ । बिहीबारबाट सुरु हुने विश्व फुटबलको महाकुम्भको उद्घाटन समारोह उत्कृष्ट हुने रसियाको दावी छ ।

विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् । ‘रसियामा प्रस्तुति गर्नका लागि म निकै उत्साहित छु । फिफा विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शकसामु प्रस्तुति सानैदेखिको सपना थियो ।’ रोब्बीले भने, ‘आउँदो क्षणलाई अविस्मरणीय बनाउनका लागि फुटबल र संगीतका पारखीहरुलाई निमन्त्रणा दिन चाहन्छु ।’

विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ । विश्वकपको ट्रफी जित्नका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन् ।

‘प्रतियोगिताको उद्घाटन खेल प्रतिकात्मक हुन्छ । फुटबल प्रेमी, खेलाडी, पदाधिकारी लगायत सबैले यो क्षणलाई निकै महत्वपूर्ण अनुभव गर्दछन्’, ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने, ‘किनभने यो क्षण चार वर्षको व्यग्र प्रतिक्षापछि आएको छ र आउँदो एक महिनाबीचमा के हुन्छ कसैलाई थाहा हुँदैन ।’

रोनाल्डो भन्छन्, ‘आयोजक राष्ट्रका लागि त यो क्षण भावनात्मक रुपमा जोडिएको हुन्छ । पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ । यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ ।’

उद्घाटन समारोहका प्रस्तुतिहरु रसियाको च्यानल वनले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रमदेखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया