ठगी अभियोगमा मेयर पक्राउ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली पक्राउ परेका छन् । फरार भएको १६ महिनापछि उनी भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

सहकारी ठगी अभियोगमा फरार प्रतिवादी नेपालीलाई लामो समयसम्म नभेटिएपछि गत वर्ष १२ माघ इन्टरपोलमा रेड नोटिससमेत जारी भएको थियो । नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए । प्रहरी स्रोतका अनुसार उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय नेपाल झिकाउने तयारी भएको छ ।

इमेज सहकारी ठगीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले पीडितलाई उजुरी दिन आह्वान गरेको थियो । मेयर नेपालीसँगै सहकारी रकम अपचलन आरोपमा उनकी श्रमिती छेला नेपालीविरुद्ध समेत प्रहरीमा जाहेरी छ । उनीहरुविरुद्ध १ हजार ५ सय ७३ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् । गत वर्ष २३ जेठमा पहिलोपल्ट मुद्दा दर्ता भएको थियो । हालसम्म उनीहरुविद्धरु बिगो १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नेपालीले कृत्रिम कर्जा खडा गरी सहकारीको रकम अपचलन गरेको अनुसन्धानमा भेटिएको छ ।

तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी बचतकर्ताबाट झण्डै २ अर्ब रुपैयाँ उठाएर हिनामिना गरेको उल्लेख छ ।

उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए । आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाख बचत भएकाहरुले करोडौंको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका थिए ।

आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताए । बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकारेका छन् । उनले आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गर्दै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको समेत वचन दिएका थिए । बागलुङ, पोखरा र काठमाडौंमा गरी उनका १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन् ।

एमालेबाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका नेपाली अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ । शाखा कार्यालयहरू पोखराको सिर्जनाचोक तथा बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन् । उक्त सहकारी ठगी अभियोगमा पक्राउ परेका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया