दाङ (तुलसीपुर) १२ असार । २०७२ साल असार २१ गते । दिउसो करिब २/३ बजेको थियो होला । समय ठ्याक्कै मैले अहिले विर्से । घरमा काम गर्दैगर्दा पार्वती (भाइबुहारी) लाई सर्पले डस्यो । घर परिवार र छरछिमेकमा हल्ला भयो । सबै जुटे । उपचारका लागि तत्कालीन अञ्चल अस्पताल तुलसीपुरमा लग्ने तयारी भयो । नेपाल बन्द भएकाले सार्वजनिक सवारी साधन चल्ने कुरै भएन । घरमा पनि झारफुक गर्यौं । नेपाल बन्दका कारण समयमै अस्पताल पुर्याउन सक्ने अवस्था पनि भएन । एम्बुलेन्स आउँदासम्म केही ढिलो पनि भयो । अस्पताल पुर्याएर बेडमा सुतायौं । औषधि किनेर जाने बेलामा डाक्टरले तपाईंको बिरामी छैन भने ! त्यसपछि अहिले फेरि अर्को नसोचेको घटना भयो …….. । तुलसीपुर उपमहानगरपालिका –२ भमके निवासी ढक प्रसाद पाठकले विगतमा भाइबुहारी पार्वती पाठकको मृत्यु हुनुको कारणका विषयमा स्मरण गर्दै तुलसीपुर खबरकर्मीसंग कुरा गर्दा उहाँको गला अवरुद्ध भयो । मन थाम्न सक्नु भएन अनि भक्कानिनु भयो । केही समय पछि फेरि नसोचेको अकल्पनीय नयाँ घटनाको बेली विस्तार लगाउनुभयो । पार्वतीले संसार छाड्दा उहाँका छोरा घनश्याम पाठक २ वर्ष १ दिनका मात्र थिए ।
रोजगारीको सिलसिलामा बुवा पारेश्वर पाठक मलेसियामा हुनुहुन्थ्यो । आमाको न्यानो काखमा खेल्ने, हुर्किने समयमा निधन भएपछि पालन पोषणको जिम्मा घरकै हजुरआमाको काँधमा आयो । घनश्याम हजुरआमाको काखमै हुर्किए । एवम् रीतले दिन गए । महिना गए । वर्ष गए । कहिलेकाँही घनश्यामको मुखबाट अनौठो बोली निस्कने गर्थ्यो । खेल्दा, सामान्य कामकाज गर्दा आमा मलाई सर्पले टोक्यो ! बचाउनुस् ! इत्यादि । हजुरआमालाई घनश्यामले आमा भनेर बोलाउने गर्थे । विभिन्न समयमा यस्तो अनाैठाे शब्द बोल्न थालेपछि आमाले बाबु यस्तो भन्नु हुँदैन । भन्दै धेरै पटक सम्झाउनुभयो ।
मृतक ११ वर्षका बालक घनश्याम पाठक
तर घनश्यामको मुखबाट त्यो शब्द हट्न सकेन । लेखलाभावी मेटला को भने झै । अन्ततोगत्वा घनश्यामलाई २०८१ असार ६ गते राती करिब पौने १२ बजे घरमा सुतेको समयमा गराँइच सर्पले टोक्यो । सर्पले टोक्ने बित्तिकै घनश्यामले आमा मलाई सर्पले टोक्यो ! भने । तर आमालाई नातिको पुरानै बानी होला भन्ने लाग्यो । छपक्क लाएर सुत न, किन रातिमा कराएको फेरि ? हजुरआमाले भन्नुभयाे । यसपटक भने घनश्यामलाई सर्पले साँच्चिकै डसेको थियो । जसका कारण उनले सर्पले टोक्यो भन्न छाडेनन् ! त्यसपछि आमा उठेर बत्ती बालेर कम्बल फाल्दा नभन्दै सर्प बालकको कम्मरमा बेरिएको देखेपछि होसहवास नै उड्यो । बालक हजुरआमासँग एउटै कोठामा तर छुट्टै सुत्ने गर्दा रहेछन् ।
७९ वर्षकी वृद्ध हजुरआमा लकलक काम्दै कराउन थालेपछि छोराहरू जुटे अनि करेत सर्पलाई मारे । लगत्तै बाइकमा चढाएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । प्रादेशिकमा सर्पले टोकेको भेन्यु पत्ता नलागेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरियो । ‘एम्बुलेन्समा हालेर उपचारका लागि घोराही जाँदै गर्दा बाबुसँग कुरा गर्दै गयौँ । बाबुले मलाई केही हुँदैन नि ? भन्यो । हुँदैन बाबु तिमीलाई निको हुन्छ भनेर सम्झाऔँ ।’ ठुलाबुबा ढक प्रसादले भन्नुभयो ।
डक्टरहरूले पनि निकै प्रयास गरेका हुन् । उपचार पनि भइरहेको थियो । समय बित्दै गयो विषले बालकलाई झनपछि झन लट्ठ बनाउँदै लग्यो । अन्तिम समयमा आएर असार ७ गते साँझ ८ बजे चिकित्सकले हामीले बचाउन सकेनौ भन्ने जवाफ दिए ढक प्रसादले भन्नुभयो । पढ्दा र सुन्दा कथा जस्तो लाग्ने यो घटना ९ वर्षको अन्तरालमा एउटै घरमा भएको हो । श्रीमतीको वियोगमा विछिप्त भएका बालकका बुवा पारेश्वर कक्षा ५ मा पढ्दै गरेका ११ वर्षका छोरा घनश्यामको पनि सर्पले डसेर मृत्यु भएपछि उहाँ अहिले मुर्छित हुनुहुन्छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।