
दाङ,२५ जेठ । बिहान करिब ७/८ बजे थियो । दाङको तुलसीपुरमा एक महिला र पुरुष माथि खुकुरी प्रहार भयो भन्ने हल्ला एकाएक फैलियो । खुकुरी प्रहारबाट महिला र पुरुष घाइते भए । त्यस लगत्तै घटनामा संलग्न व्यक्ती खुकुरी सहित भागे । घटनाको जानकारी प्रहरीलाई भयो । प्रहरी घटना स्थलतर्फ लाग्यो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उता आरोपीलाई प्रहरीले १९ नम्बर बाहिनी अड्डा तुलसीपुरको गेटबाट नियन्त्रणमा लियो । यता उपचपारत घाइते ३१ बर्षकी टिका रावतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बिहान सवा ९ बजे मृत घोषणा ग¥यो ।
तुलसीपुर–६ राप्ती टोलमा डेरा गरेर बस्दै आएकी रावतको खुकुरी प्रहार गर्ने कपुरकोट गाउँपालिका–६ पोखडाडाँ निवासी बर्ष ३६ का सालिक राम बुढाथोकीसंग २०८१ जेठ १० गते सल्यान जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो । अर्का घाइते अछामको कमल बजार नगरपालिका वडा नं. ४ निवासी २९ वर्षका आर्यन थापा १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा सिपाही पदमा कार्यरत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए । एउटै कोठामा भेटिएपछि दुबैजना माथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । बिहान करिब ८ बजे कोठामा पुगेका बुढाथोकीले अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारत घाइते सेनाका जवान थापा भने खतरा मुक्त भएको अस्पतालले बताएको छ । घाइते भएका नेपाली सेनाका जवान थापा कोठामा कसरी आए । उनि दुबै बिचको नाता के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
को हुन हुन हत्यामा संलग्न व्यक्ती ?
१४ दिन अघि सम्बन्ध विच्छेद गर्ने श्रीमतिको हत्यमा संलग्न शालिक राम बुढाथोकी तत्कालिन नेकपा माओवादीको जनमुक्ती सेना भएको बुझीएको छ । सेना समायोजनसंगै उनि नेपाली सेनामा प्रवेश गरेका थिए । नेपाली सेनाकोे ज्वालादल गण बारामा अमलदार पदमा कार्यरत सालिक राम बुढाथोकी एक वर्ष शान्ति सेनामा तैनाथ भएर गएको जेठ ६ गते घर फर्किएका थिए ।
यस कारण भयो घटना ?
बुढाथोकीले सम्बन्ध विच्छेद गर्न चाहदैनथिए । तर टिका भने सम्बन्ध विच्छेद गर्न चाहन्थीन् । पारिवारीक स्रोतका अनुसार शान्ति सेनाबाट फर्किएका बुढाथोकीले छोराको पढाईलेखाइ, कोठाभाडा, खानासहित विविध खर्चका लागि साढे तीन लाख रुपैयाँ पनि दिए । श्रीमान श्रीमतीको खटपट् भएपछि सल्यान जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दिएकी टिकालाई हरेक प्रकारले बुढाथोकीले सम्झाइ बुझाई गरेर फकाए । अँह केहि लागेन । त्यसपछि सल्यानमा रहेका भिनाजु नेत्रबहादुर बस्नेतलाई श्रीमान श्रीमती बिचको सम्बन्धका विषयमा रुदै फोन गरेर सम्झाइदिन भने । त्यसमा पनि कसैको जोड चलेन । ‘सल्यानको खलङ्गामा भेट हुँदा छोराको मुख हेरेर दुबैजना बस । किन सम्बन्ध विच्छेद गर्छाै ।
सालाको गल्ती भए माफी माग्छन् । भनेर धेरै सम्झायौं मानिनन् । विष किनेर राखेकी छु । सम्बन्ध विच्छेद गर्न नमानेपछि छोरालाई पनि मार्छु म पनि विष खाएर मर्छु भन्न थालिन् त्यसपछि हाम्रो केही लागेन । आज यस्तो दुखद घटना सुन्नु प¥यो ।’ भिनाजु नेत्रबहादुर बस्नेतले तुलसीपुर खबरलाई टेलिफोनमा भन्नुभयो । मृतकको शवलाई राप्ती अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । माइती पक्ष आएर किटानी जाहेरी दिएपछि पोष्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिने प्रहरीले बताएको छ । श्रीमान र श्रीमतीबाट एक मात्र छोरा ७ वर्षका मिलन बुढाथोकी आमासंगै बस्दै आएका थिए ।