काठमाण्डौ, १४ बैशाख । २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि हिजो बिहीवार १३ गतेसम्ममा घर तथा संरचनामा भएको आगलागीमा परेर आठ जना र वन डढेलोमा परेर दुई जना गरी १० जनाको ज्यान गएको छ ।
यस्तै १३ दिनमा सात सय ३५ वटाभन्दा धेरै घरमा आगो लागिसकेको छ । आगलागीले घर संरचना, पशुचौपाया, अन्नपात, गरगहना, नगदलगायत जल्दा २२ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको प्रारम्भिक अनुमान छ । वैशाख १ गतेदेखि आज शुक्रवार १४ गतेसम्ममा देशभरका एक हजार सात सय ७० वटाभन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागेको वन तथा भूसंरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीले देखाएको छ । अहिले पनि देशका दुई सय ५० वटाभन्दा धेरै ठाउँमा बलिरहेको डढेलो छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।