विमानस्थलबाट ५० ग्राम सुनसहित २ जना पक्राउ

काठमाडौं,१३ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका–३ घर भएका ४३ वर्षीय राजकुमार श्रेष्ठ छन् ।भन्सार छली गरी लैजान लागेको ५० ग्राम बराबरको सुनको सिक्री २ थान, आइफोन ३ थान र विभिन्न भेपको लिक्युडसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट उनीहरूलाई पक्राउ गरिएको हो । बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया