सल्यानमा विवाहको भोज खाएर फर्किदै गरेका युवकको हत्या 

सल्यान, १२ वैशाख । सल्यानमा विवाहको भोज खाएर फर्किदै गरेका युवकको कुटपिट गरी हत्या गरिएको छ । अज्ञात समूहको कुटपिटबाट कुमाख गाउँपालिका–६ वडागाउँका २१ वर्षीय विकास वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । प्रहरीका अनुसार कुमाख गाउँपालिका–५ कौछेमा  रहेको एक घरमा विवाहको भोज खाएर फर्कने क्रममा गएराती साढे ९ बजेको समयमा दुई समूहबिच विवाद हुँदा कुटाकुट भएको थियो ।

कुटपिटबाट घाइते भएका वलीलाई रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा उपचारकै क्रममा नर्सिङ होममा आज बिहान साढे ६ बजेको समयमा मृत्यु भएको हो । कुटपिटबाट सोही ठाउँका १८ वर्षीय सुशील केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य मदन चौरजहारी अस्पतालबाटै उपचार पछि डिस्चार्ज भएको र सुशीलको भने नेपालगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न रहेको आशंकामै केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

 

 

 

 

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया