
अर्घाखाँची, ९ बैशाख । अर्घाखाँचीका विभिन्न ठाउँमा हिजो शनिवार भएको आगलागीमा ४३ वटा घरगोठ जलेर नष्ट भएका छन् । हिजो भएको आगलागीले २० वटा घर, २३ वटा गोठ, ११ वटा बाख्रा र छ वटा भैँसी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।
भूमिकास्थानको धारापानीमा हिजो भएको भीषण आगोलागीमा २३ वटा घरगोठ जलेर नष्ट भएका छन् । धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँमा आगलागी भएको हो । पाणिनि गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । यस्तै शितगङ्गा नगरपालिकाको भेडामारे, डोहोटे, गल्डुङ्ग लगायतका ठाउँमा पनि आगलागीबाट क्षति भएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार