
तुलसीपुर, ७ बैशाख । पश्चिम दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा चरकमटियाबाट जन्ती लिनका लागी काशिपुरतर्फ जादै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशिपुर स्थित भित्री सडकखण्डमा ठककर दिदा नाम थर नखुलेका अन्दाजी ४५–५० बर्षका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय खिलतपुरबाट इन्स्पेक्टर अजयजंग थापाको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमा बिहान साढे ४ बजेको समयमा उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बससहित चालक बबई गाउँपालिका–७ का ३२ वर्षीय अमर बहादुर चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।।