
काठकाडौँ, २७ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि दई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । यस्तै, काँग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग एमाले सांसद घिमिरेले राष्ट्रिय सभालाई अध्यक्षसँग सल्लाह गरेर थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रूपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।