
काठमाण्डौ, १६ फागुन । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित इन्जिनियर मकरध्वज शाही, सब–इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक मङ्गल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपाली लगायतविरुद्ध आज मुद्दा दायर गरेको हो ।
उनीहरूले गाउँपालिकासँग भएको सम्झौता विपरीतको काम गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्तासम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको पुष्टि भएकोले मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । आयोगले ११ जनासँग गरी ४२ लाख २९ हजार तीन सय ५८ रुपैयाँ जरिबाना र कैद गरी मागदाबी गरेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार